भारतको महाराष्ट्रस्थित परधाडे स्टेशननजिकै बुधबार अपराह्न भएको रेल दुर्घटनामा मृत्यु भएका सात जना नेपालीको सनाखत भएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै १२ जनाको ज्यान जाने उक्त दुर्घटनामा सात नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
मृतक नेपालीहरूमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्मा विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी, र बाँकेका ३२ वर्षीय राधेश्याम राध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुर्घटनामा घाइते भएका चार जना नेपालीहरूमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनाको जलगाउँस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको जानकारी गराइएको छ।
मृतकको शव नेपाल ल्याउन तथा घाइतेहरूको प्रभावकारी उपचारका लागि दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंको भारतीय दूतावाससँग सहकार्य भइरहेको मन्त्रालयले जनाएको छ।
साथै परराष्ट्र मन्त्रालयले भारतमा रहेका नेपाली नागरिकहरूलाई यात्रा गर्दा विशेष सतर्कता अपनाउन र कुनै समस्या परे नेपाली दूतावास वा नजिकको कन्सुलर कार्यालयसँग सम्पर्क गर्न आग्रह गरेको छ।