१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

भारतको महाकुम्भ मेलामा भागदौड, कम्तीमा ३० जनाको मृत्यु



भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा बुधबार बिहान भएको भागदौडमा कम्तीमा ३० जनाले ज्यान गुमाएका छन् भने ६० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कुम्भ मेलाको अवसरमा भारतभरका श्रद्धालुहरूले गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने परम्परा छ । बुधबार मौनी अमावास्यका अवसरमा हुन लागेको ‘अमृतस्नान’का बेला भागदौड मच्चिएको हो।

महाकुम्भका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेख अनुसार बुधबार बिहान १ देखि २ बजेका बीचमा केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोज्दा भागदौड मच्चिएको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका अनुसार बुधबार मात्र ८ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेका थिए । बिहान ८ बजेसम्ममा मात्र ३ करोड श्रद्धालुले स्नान गरिसकेको दाबी गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गर्दै घटनाबारे राज्य सरकारसँग सम्पर्कमा रहेको बताएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । घटनाको छानबिन गर्न न्यायाधीश हर्ष कुमारको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग गठन गरिएको छ ।

विपक्षी दलका नेताहरूले दुर्घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले प्रशासनले भीआईपीहरूलाई मात्र प्राथमिकता दिएको र अव्यवस्थाका कारण दुर्घटना भएको आरोप लगाए ।

गत पुस २९ मा सुरु भएको कुम्भ मेलामा हालसम्म २० करोडभन्दा बढी श्रद्धालुले स्नान गरिसकेका छन् । करिब ४० करोड तीर्थयात्रीले मेलामा सहभागिता जनाउने अनुमान गरिएको छ । १२ वर्षमा एकपटक मात्र आयोजना गरिने महाकुम्भ विशेष ग्रह-नक्षत्रहरूको संयोगका कारण यसपटक झन् महत्वपूर्ण मानिएको छ ।

मेलास्थलको व्यवस्थापनका लागि ४ हजार हेक्टर क्षेत्रफलमा टेन्ट सिटी निर्माण गरिएको छ। करिब २ सय सडक चौडा पारिएको छ, १ लाख ६० हजार पालहरू ठड्याइएको छ, १ लाख ५० हजार शौचालय निर्माण गरिएको छ। सुरक्षाका लागि ५० हजार प्रहरी र अन्य सुरक्षाकर्मी खटाइएको छ ।

भारत सरकारले महाकुम्भ आयोजनाका लागि ७० अर्ब भारतीय रुपैयाँ खर्च गरेको छ । उत्तर प्रदेश सरकारले यस मेलाबाट २ खर्ब ५० अर्ब राजस्व संकलन गर्ने अपेक्षा गरेको छ । संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले कुम्भ मेलालाई मानवताको अमूर्त सम्पदाको मान्यता दिएको छ ।

भारतमा धार्मिक मेलामा भागदौडका घटनाहरू बारम्बार हुने गरेका छन् । तीन साताअघि तिरुपति मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको थियो । गत वर्ष उत्तर प्रदेशको हाथरसमा आयोजित धार्मिक प्रवचनस्थलमा भएको भागदौडमा १२१ जनाले ज्यान गुमाएका थिए । सन् २०१३ मा कुम्भ मेलामै भागदौड हुँदा ४२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  १२ : ०७ बजे