वाशिंगटन डीसीमा एउटा अमेरिकी एयरलाइन्सको विमान र सैनिक हेलिकप्टर आकाशमा ठोक्किएर पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएका छन् । जेट विमानमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य थिए भने सैन्य हेलिकप्टरमा तीन जना अमेरिकी सेनाका जवान थिए ।
लगभग तीन सय आपतकालीन उद्धारकर्ताहरू “उद्धार कार्य” मा जुटेको बीबीसीले जनाएको छ । प्रहरी गोताखोर र डुङ्गाहरूले हावाहुरी र अँध्यारो अवस्थामा नदीमा जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन् । केही शवहरू फेला परेको खबर छ, तर हताहतको बारेमा आधिकारिक जानकारी आउन बाँकी छ ।
संघीय उड्डयन प्रशासनले सीबीएस न्यूजलाई दिएको एक विज्ञप्तिमा दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिंगटन राष्ट्रिय विमानस्थलको रनवे ३३ मा अवतरण गर्ने क्रममा भएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “भयानक दुर्घटना” बारे जानकारी पाएको र आपतकालीन उद्धारकर्ताहरूको “अविश्वसनीय काम” को लागि धन्यवाद दिएको बताएका छन् ।
दुर्घट्नामा परेका व्यक्तिहरू कोही जीवित छन् कि छैनन् भन्ने स्पष्ट नभएको बताइएको छ ।