राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा ठगी सम्बन्धी मुद्दा मात्र दायर गरिएको छ । उनका साझेदार छविला जोशी र सहकर्मीहरुलाई भने संगठित अपराधमा पनि मुद्दा दायर गरिएको छ ।
कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा भने रविबिरुद्ध पनि संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।
चितवन जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख शान्तिप्रसाद लुइँटेलका अनुसार, पोखरा र बुटवलमा रविले आफैं ऋण लगेको देखिएकाले त्यहाँ संगठित अपराधको मुद्दा दर्ता भएको हो । तर, चितवनमा भने उनी प्रत्यक्ष संलग्न नरहेको देखिएकाले केवल ठगी मुद्दा मात्र चलाइएको हो ।
सहकारीको रकम गएका मध्ये एकभन्दा बढी कम्पनीका सञ्चालकलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । रवि लामिछाने भने एउटै कम्पनीका सञ्चालक रहेकाले ठगी मुद्दा मात्र लगाइएको हो ।
सरकारी वकिल कार्यालयले रवि लामिछानेसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नविन अछामी, कविता तामाङ, असरफ अली सिद्धिकी विरुद्ध ठगीमा मात्र मुद्दा दायर गरेको छ । तर, जिबी राई, सागर केसी, हेमन्त अधिकारी, आशिष राना मगर, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्र राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दिपक लामा, नेत्रप्रसाद बाँस्तोला सहित १२ जनामाथि ठगीसँगै संगठित अपराधको मुद्दा दायर भएको छ ।
सरकारी वकिलले अदालतमा पेश गरेको अभियोग पत्र अनुसार, सहकारीबाट बचतकर्ताले जम्मा गरेको रकम गोर्खा मिडिया नेटवर्क १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हर्ब्स इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८९७ रुपैयाँ, जीबी ग्रुप अफ कम्पनीजमा ९ करोड २७ लाख ५० हजार ८५४ रुपैयाँ, स्प्रिङउड रियलस्टेट एण्ड हाउजिङमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ, नेचर नेष्ट कम्पनीमा ६ करोड ५१ लाख १० हजार ३२२ रुपैयाँ र गोर्खा ग्रुप अफ मल्टी इनभेष्टमेन्टमा १७ लाख ५८ हजार रुपैयाँ गरेको छ ।
गोर्खा मिडिया नेटवर्कमा गएको रकम जिबी राई, छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेल, र जीबी ग्रुप अफ कम्पनीबाट भराउनुपर्ने माग दाबी अभियोग पत्रमा गरिएको छ । अन्य कम्पनीहरूमा गएको रकम पनि तिनका सञ्चालकहरूसँग असुल गर्ने माग गरिएको छ ।
रवि लामिछानेलाई यसअघि कास्की जिल्ला अदालतले ६५ लाख, काठमाडौं जिल्ला अदालतले ६० लाख, र रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी लिएर छाडेको थियो ।