२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

मेक्सिको र क्यानडाको सामानमा कर लगाउने ट्रम्पको घोषणा स्थगित, अमेरिका र चीनले एक अर्काबिरुद्ध कर बढायो



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी राष्ट्रहरु मेक्सिको र क्यानडाबिरुद्ध कर बढाउन गरेको घोषणा स्थगित गरेपनि अमेरिका र चीनबीचको व्यापार युद्ध पुनः तीव्र बनेको छ ।

अमेरिकाले मंगलबार बिहानदेखि चीनबाट आयात हुने सबै वस्तुहरूमा १०% कर (ट्यारिफ) लगाउने निर्णय लागू गरेपछि प्रतिउत्तरमा चीनले पनि अमेरिकी उर्जा स्रोतहरू र केही गाडीहरूमा कर वृद्धि गर्ने घोषणा गरेको छ ।

चीनले अमेरिकी कोइला र तरल प्राकृतिक ग्यासमा १५% र कच्चा तेल, कृषि उपकरण, पिकअप ट्रक, र केही स्पोर्ट्स कारमा १०% कर बढाउने घोषणा गरेको छ ।

चीनले अमेरिकाको कदमको प्रतिउत्तरमा कठोर कर नीति ल्याए पनि संवादका लागि ढोका खुला राख्न सक्ने संकेत दिएको छ । बीबीसीका अनुसार बेइजिङ अझै वार्ताको सम्भावनामा रहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको शुल्क वृद्धिको मुख्य कारण व्यापार घाटा र अमेरिका भित्र गैरकानुनी रूपमा भित्रिने फेन्टानिल (नशालु पदार्थ) को प्रवाह रहेको बताएका छन् । अमेरिकाको १०% कर मंगलबार बिहान १२:०१ (पूर्वी अमेरिकी समय) वा बिहान ५:०१ देखि औपचारिक रूपमा लागू भएको छ ।

तर अमेरिकाले क्यानडा र मेक्सिकोमाथि प्रस्तावित २५% कर अन्तिम चरणको वार्तापछि स्थगित गरेको छ । यस निर्णयसँगै, मेक्सिकोले आफ्नो उत्तर सीमा क्षेत्रमा १०,००० राष्ट्रिय सुरक्षा बल तैनाथ गर्ने सहमति जनाएको छ । राष्ट्रपति क्लाउडिया शिनबामले अमेरिका-मेक्सिको सीमामा लागुऔषध तस्करी नियन्त्रण गर्न सैनिक परिचालन गरिएको बताएकी हुन् ।

“राष्ट्रपति ट्रम्पको प्रभावकारी वार्ता कौशलका कारण अहिले हामीसँग मेक्सिकोको सीमा सुरक्षामा १०,००० सैनिक तैनाथ हुनेछन्,” अमेरिकी रक्षा सचिव पिट हेगसेथले भनेका छन् ।

मेक्सिकोको रक्षा मन्त्रालयको अप्रिल २०२४ को प्रतिवेदन अनुसार, पहिल्यै लगभग १५,००० सैनिकहरू सीमामा तैनाथ छन् । अब अतिरिक्त संख्यामा तैनाथी बढाइने छ । राष्ट्रपति ट्रम्पले यस तैनाथीलाई “स्थायी” बनाइने बताउँदै आए पनि, मेक्सिको सरकारले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यसअघि, सन् २०१९ मा ट्रम्प प्रशासनको दबाबपछि मेक्सिकोले १५,००० सैनिकहरू अमेरिकासँगको सीमा क्षेत्रमा पठाएको थियो । त्यस्तै, सन् २०२१ मा राष्ट्रपति जो बाइडेनको कार्यकालमा १०,००० मेक्सिकन सैनिकहरू सीमा सुरक्षाका लागि तैनाथ गरिएका थिए ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : ५८ बजे