९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

ट्रम्पका नीतिविरुद्ध अमेरिकाभरि प्रदर्शन, एलन मस्क र ‘प्रोजेक्ट २०२५’ को विरोध



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको आरम्भिक निर्णयहरूप्रति असन्तुष्टि जनाउँदै बुधबार अमेरिकाका विभिन्न शहरहरूमा हजारौँ प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरे।

फिलाडेल्फिया तथा क्यालिफोर्निया, मिनेसोटा, मिशिगन, टेक्सास, विस्कन्सिन, इन्डियाना लगायतका राज्यहरूको राजधानीमा भेला भएका प्रदर्शनकारीहरूले ट्रम्प प्रशासनको आप्रवासन नीतिदेखि ट्रान्सजेन्डर अधिकारहरू खारेज गर्ने निर्णयसम्मको विरोध गरे। साथै, गाजा पट्टीबाट प्यालेस्टिनीहरूलाई जबरजस्ती स्थानान्तरण गर्ने प्रस्तावको निन्दा गरे ।

प्रदर्शनकारीहरूले ट्रम्प प्रशासनका साथै उनका सहयोगी एलन मस्क—जसले नयाँ ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ को नेतृत्व गरिरहेका छन्— र अमेरिकी प्रशासनलाई उग्र-दक्षिणपन्थी मोड दिने ‘प्रोजेक्ट २०२५’ योजनाको समेत आलोचना गरे ।

“लोकतन्त्रको रूपान्तरण पछिल्ला दुई सातामा विशेष गरी गम्भीर बन्दै गएको छ, तर यसको जरो निकै गहिरो छ,” ओहायोको कोलम्बसस्थित स्टेटहाउस अगाडि प्रदर्शनमा सहभागी मार्गरेट विलमिथले भनिन्, “म प्रतिरोधलाई बल दिन यहाँ उभिएको छु।”

यी विरोध प्रदर्शनहरू #buildtheresistance र #50501 नामक अनलाइन आन्दोलनका परिणामस्वरूप आयोजित भएका हुन्, जसले एकै दिन ५० राज्यहरूमा ५० प्रदर्शन गर्ने लक्ष्य राखेको थियो । विभिन्न सामाजिक सञ्जाल र वेबसाइटहरूमा ‘फासिवादलाई अस्वीकार गरौँ’ र ‘हाम्रो लोकतन्त्रको रक्षा गरौँ’ जस्ता नाराहरू फैलाइएका छन् । 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ११ : २३ बजे