Login
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटन समारोहका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन्।
रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो। बेलुन पड्किएपछि महानगर प्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो।
पोखरामा प्राथमिक उपचार पछि पौडेल र आचार्य दुबैलाइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ । उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
“उहाँहरूको प्रारम्भिक मूल्यांकन अनुसार ५–६ प्रतिशत जलेको छ। तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ,” अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
पौडेल र आचार्यको उपचारमा प्राडा विडी झा, डा. प्रविण गिरी, प्राडा शंकर मान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतका जलन विशेषज्ञहरूको टोली संलग्न रहेको अस्पतालले जनाएको छ। साथै आकस्मिक उपचार टोली तथा नर्सिङ्ग टोली पनि सक्रिय रहेको छ।
अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइएको थियो। मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ।
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो। बेलुनमा आगो टिपेपछि उनीहरूको शरीरमा आगो सल्किएको थियो। दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो।