१ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026

राजाको पक्षमा पक्षमा नारा लगाउने अमेरिकी पक्राउ




राप्रपा नेपालले कुलमान घिसिङलाई बर्खास्त गरेकोबिरुद्ध आयोजना गरेको जुलुसमा राजतन्त्रको पक्षमा नारा लगाउने एक अमेरिकीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले जुलुसमा ‘राजा चाहियो’ भन्दै नारा लगाएको बताइएको छ । माइतीघरमा केही नेपाली नागरिकहरूसहित राजसंस्थाका पक्षमा नारा लगाइरहेका बेला अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी नेपालमा भने आफूलाई ‘जयानन्द कृपा’ का रूपमा चिनाउँथे । उनलाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राजनीतिक विषयमा समेत विरोध जनाई आक्रामक भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । त्यसअघि उनी ‘कृपया शुद्ध शाकाहारी भोजन खानुहोस्, प्लास्टिक जलाउने र फ्याँक्ने कार्य अपराध हो । त्यसैले सधैं प्लास्टिकलाई अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस्’ ब्यानरसहित माइतीघरमा माइकिङ गर्दै बसेका थिए । एक्कासि उनले राजसंस्थाका बारेमा नारा लगाउँदै सरकारको विरोध गरेपछि पक्राउ गरिएको बताइएको छ ।

पछि उनले ‘भ्रष्ट सरकार खारेज गरौँ’ लेखिएको प्लेकार्डसमेत उनले बोकेका थिए । ब्लिसले ‘टेन मिलियन काउज’ नामक अभियानसमेत चलाउँदै आएका छन् । यही नामबाट चलाइएको फेसबुक पेजमा उनी नेपालमा विभिन्न ठाउँमा गई ‘शाकाहारी अभियान’ चलाएका तस्बिर पनि पोस्ट गर्छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ९ : ०६ बजे