गत शुक्रबारको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई थप ६ दिन राखेर अनुसन्धानका लागि प्रहरीले अनुमति पाएको छ ।
काठमाडौं जिल्ला न्यायाधीश ढाकाराम पौडेलको इजलासले बुधबार यस्तो आदेश दिएको हो ।
तीनकुनेबाट पक्राउ परेका उनीहरूविरुद्ध पहिलो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरसहित आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ । लमजुङका मनिन्द्र राजभण्डारी, रूपन्देहीका गोपाल मल्ल, जुम्लाका हरिहर चौलागाईं, रामकुमार धिमाल, सुनसरीका सन्तोष चौधरी, काठमाडौंका पशुपति खड्का, तनहुँका विष्णु पराजुली, झापाका पुष्कर खतिवडा र गोपीकृष्ण खड्काविरुद्ध पनि सोही कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यस्तै, स्याङ्जाका देवबहादुर थापा मगर, रौतहटका राज ठाकुर, काठमाडौंका प्रसिद्ध मल्ल, रुकुमका विकास ओली, महोत्तरीका सुदर्शन थापा, खोटाङका राजकुमार राई र भगवती रोक्काविरुद्ध भने आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
उदयपुरका नवीन ढकाल, सप्तरीका आलोक पराजुली, रौतहटका इरफान खान, सिन्धुपाल्चोकका गणेशबहादुर गुरुङ, काभ्रेपलाञ्चोकका विवेक खनाल, बाराका उपेन्द्र साह, मकवानपुरका कृष्णकुमार बस्नेत, चितवनका जीवन पुरी, कैलालीका गणेश प्याकुरेल, दोलखाका सरुन थापा, काठमाडौंका श्रवण लामा, रामेछापका स्टन लामा, नुवाकोटकी सुशीला कुमाल, सिन्धुपाल्चोककी निर्मला कार्की, सुनसरीकी एलिसा राई, सुर्खेतका भविन्द्र बीसी, धादिङका आशिष तामाङ, गुल्मीका लीला राणा, सिन्धुलीकी चित्रमाया बस्नेत र सस्मिता बरालमाथि पनि सोही कसुरमा अनुसन्धान भइ रहेको छ । सोही कसुरमा बझाङका नीराजन गिरी, दोलखाका प्रेधबहादुर, कालीकोटका मनीषकुमार शाहीमाथि पनि अनुसन्धानका लागि म्याद थप भएको हो ।
हिंसात्मक प्रदर्शनमा संलग्न रहेकोआरोपमा १ सय १२ जनालाई प्रहरीले पक्राउ गरे पनि स्वागत नेपाललगायत ८१ जनालाई सामान्य सोधपुछपछि हाजिरी जमानीमा छाडेको छ ।
थप सात जना पक्राउ
सोही घट्नामा संलग्न भएको आरोपमा प्रहरीले थप ७ जनालाई बुधबार पक्राउ गरेको छ । राज्य विरूद्धको कसुर र संगठित अपराधसम्बन्धीको कसुरमा १ र उपद्रव कसुरमा ६ जना गरी ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
राज्य विरूद्धको कसूरमा पक्राउ पर्नेमा रूपन्देशी देवदह नगरपालिका-९ घर भएका ४७ वर्षीय प्रेमथापा मगर रहेका छन् भने अपराधिक उपद्रव कसूरमा झापा गौरादह नगरपालिका-१ घर भएका २१ वर्षीय समिर मगर, रामेछाप सुनापाति गाउँपालिका-१ का २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङ फुलुङ नगरपालिका-३ का २३ वर्षीय सुशिल बराल, नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका २७ वर्षीय रमेश राई, अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही र संखुसभा पाँचखपन नगरपालिका-२ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३९ वर्षीय मुकुन्द दहाल रहेका छन् ।
उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप पाएको छ । मंगलबार पनि तीनकुने घटनामा प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो । त्यसअघि पक्राउ गरिएको ४१ जना समेत गरेर अहिलेसम्म ६६ जना प्रहरी हिरासतमा रहेका छन् ।
तीनकुनेमा राजावादीले शुक्रबार गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको ज्यान गएको थियो भने ५५ प्रहरी, २२ सशस्त्र प्रहरी र ५२ जना प्रदर्शनकारीसहित १ सय २९ जना घाइते भएका थिए । घाइतेमध्ये ६ प्रहरी, १ सशस्त्र प्रहरी र १७ प्रदर्शनकारी उपचाररत छन् ।








