९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

एनसीएनसीले मोरिसभिलमा नवौं वार्षिक नेपाल दिवस मनाउने



नेपाल सेन्टर अफ नर्थ क्यारोलिना, इन्क (एनसीएनसी) ले शनिबार, अप्रिल १९, २०२५ मा मोरिसभिल, नर्थ क्यारोलिनाको सिडर फोर्क डिस्ट्रिक्ट पार्कमा आफ्नो नवौं वार्षिक “नेपाल दिवस” मनाउने भएको छ ।  

उत्सवको सुरुवात सामुदायिक भेला र रंगीन “नेपाल दिवस परेड” बाट हुनेछ, जसमा १५०० भन्दा बढी सहभागीहरूले परम्परागत नेपाली पहिरनमा पार्क मार्च गर्नेछन् । परेडपछि, कार्यक्रममा सामुदायिक नेताहरू र विशिष्ट व्यक्तिहरूबाट औपचारिक मन्तव्यहरू हुनेछन्, र नेपाली नयाँ वर्ष २०८२ को सांस्कृतिक प्रस्तुतिहरू गरी मनाइने छ ।

कार्यक्रममा एनसी जनरल एसेम्बली, वेक काउन्टी, मोरिसभिल, क्यारी, एपेक्स र स्थानीय गैर-नाफामुखी संस्थाहरूका प्रतिनिधिहरूका साथै वाशिंगटन, डी.सी. स्थित नेपाल दूतावासका अधिकारीहरूलगायत विशिष्ट व्यक्तिहरू र विशेष अतिथिहरूको उपस्थिति रहनेछ ।

उनीहरूको उपस्थिति नर्थ क्यारोलिनाको सांस्कृतिक र नागरिक जीवनमा नेपाली-अमेरिकी समुदायको बढ्दो योगदानको मान्यता हो । सहभागीहरूले स्थानीय विक्रेताहरूबाट प्रामाणिक नेपाली खाना, सांस्कृतिक तथा सम्पदाहरु प्रदर्शनीका साथै नेपाली लाइभ संगीतको आनन्द लिन सक्नेछन् ।  

नेपाल दिवस नर्थ क्यारोलिनामा विशेष महत्व राख्दछ, जहाँ वेक काउन्टी, मोरिसभिल र एपेक्स शहरहरूले अप्रिलको तेस्रो शनिबारलाई आधिकारिक रूपमा नेपाल दिवसको रूपमा घोषणा गरेका छन्, जुन विक्रम संवत् पात्रोमा आधारित नेपाली नयाँ वर्षसँग मेल अनुसार रहेको छ । विक्रम संवत् पात्रो एक परम्परागत सौर्य पात्रो हो जुन ग्रेगोरियन पात्रो भन्दा लगभग ५६-५७ वर्ष अगाडि छ ।  

सन् १९९९ मा स्थापित, एनसीएनसी एक दर्ता गरिएको ५०१(सी)(३) गैर-नाफामुखी संस्था हो जुन नेपाली संस्कृतिको संरक्षण र सामुदायिक संलग्नतालाई बढावा दिन समर्पित छ । संस्थाले चाडपर्वहरू मनाउने, रक्तदान अभियानहरू र एडप्ट-ए-हाइवे कार्यक्रम जस्ता विभिन्न कार्यक्रमहरूको माध्यमबाट समुदायमा सक्रिय रूपमा योगदान पुर्‍याउँदै आएको छ ।  

कार्यक्रम सिडर फोर्क डिस्ट्रिक्ट पार्कमा हुनेछ, जुन २२८ एभिएसन पार्कवे, मोरिसभिल, एनसी २७५६० मा अवस्थित छ । कार्यक्रम बिहान ११:३० बजे देखि साँझ ६:०० बजेसम्म चल्नेछ ।
कार्यक्रमका बारेमा थप जानकारी www.ncnepal.org वा Facebook पेज www.facebook.com/nepaltocarolina मार्फत प्राप्त गर्न सकिनेछ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : २७ बजे