२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

न्युयोर्कमा पहिलो हिमाली नृत्य प्रतियोगिता



ल्हाक्पा गेलु शेर्पा, न्युयोर्क

न्युयोर्कको क्विन्सस्थित तिब्बती कम्युनिटी हलमा गत अप्रिल १९, २०२५ मा पहिलो पटक आयोजित हिमाली नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । Live to Love र Drukpa USA Inc. को सहकार्यमा सम्पन्न यस कार्यक्रमले हिमाली समुदायको सांस्कृतिक विविधता, युवा प्रतिभा, र समुदायबीचको एकतालाई उजागर गर्‍यो ।

कार्यक्रमको शुभारम्भ डिकी पाल्देनको स्वागत मन्तव्यबाट गरिएको थियो भने छोके ल्हामोले Live to Love संस्थाको उद्देश्य र करुणा, शिक्षा, महिला सशक्तिकरण, सेवा र वातावरण संरक्षण जस्ता गतिविधिहरू समेटिएको संक्षिप्त वृत्तचित्र प्रस्तुत गरेकी थिइन् ।

प्रतियोगितामा नेपाल, भुटान र तिब्बती समुदायका ११ समूहले सहभागिता जनाएका थिए । उनीहरूले आआफ्ना सांस्कृतिक नृत्य प्रस्तुत गर्दै परम्परागत पहिचान र हिमाली गौरवलाई जीवन्त रूपमा प्रस्तुत गरे । कार्यक्रम केवल नृत्य प्रतियोगिता मात्र नभई एक सांस्कृतिक उत्सवसमेत बन्यो, जसले युवाहरूलाई आफ्नो कला, भाषा, संस्कृति र पहिचानसँग गहिरो सम्बन्ध गाँस्ने अवसर प्रदान गर्‍यो ।

कार्यक्रममा धर्मगुरु ग्याल्वा दोखम्पा रिन्पोचेको विशेष उपस्थिति रहनुले थप ऊर्जा र गरिमा प्रदान गर्‍यो । अन्य विशिष्ट अतिथिहरूमध्ये नृत्य र बौद्ध धर्म सम्बन्धी लेखिका करेन ग्रीनस्पान, फिल्म निर्माता तथा पूर्व ब्यालरिना जोहना बेनेट र उद्यमी एवं Drukpa USA का मानार्थ अध्यक्ष दावा लोभाले हिमाली कला, संस्कृति र बुद्ध धर्मप्रतिको आफ्नो यात्राबारे विस्तृत अभिव्यक्ति दिएका थिए ।

बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा दर्शकहरुको उल्लेख्य उपस्स्थिति रहेको उक्त प्रतियोगितामा नेपालका थुमाइस, सबित्री र मनिषा, तेन्जिङ इङ्सेल तथा मुस्ताङको लो-न्यासिप सांस्कृतिक समूहले श्याब्रु नृत्य प्रस्तुत गरेका थिए । तिब्बती पक्षबाट खाम्पा भुमो, NYTSC समूहले रेल्पा, यर्लुङ सुनो, र ग्याकी कोर्दो नृत्य प्रस्तुत गरे । भुटानबाट लजे र उर्गेन, डाकिनिस, खेन्चो पेल्देन र पेमा छोडेन समूहले भुटानी नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा जम्मा ११ समूहले भाग लिएका थिए ।

थुमाइस समूह (नेपाल) ले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गर्‍यो, NYTSC समूह (तिब्बत) दोस्रो, र डाकिनी समूह (भुटान) तेस्रो स्थानमा विजयी घोषित भए । विजेताहरूको छनोट निर्णायक मण्डलको ६० प्रतिशत निर्णय र उपस्थित दर्शकहरूको ४० प्रतिशत मतको संयोजनमा गरिएको थियो, जसले मूल्यांकन प्रक्रिया पारदर्शी र सहभागिमूलक बनायो ।

यो प्रतियोगिता नगद पुरस्कारको दृष्टिकोणले पनि उल्लेखनीय रह्यो । पहिलो स्थान प्राप्त समूहले US $3,888, दोस्रो स्थानले US $2,888 र तेस्रो स्थानले US $1,888 नगद पुरस्कार प्राप्त गरे । यो नगद राशी हालसम्मको प्रवासी हिमाली समुदायमा आयोजित सांस्कृतिक प्रतियोगितामध्ये सबैभन्दा ठूलो पुरस्कार राशी हो, जसले प्रतियोगिताको स्तर र महत्वलाई झन् उच्च बनायो ।

पहिलो स्थान विजेता थुमाइस समूहलाई धर्मगुरु ग्याल्वा दोखम्पा रिन्पोचेले पुरस्कार प्रदान गरे भने अन्य पुरस्कारहरू निर्णायकहरू तथा अतिथिहरूद्वारा वितरण गरियो ।

कार्यक्रमको समापन मन्तव्य टा छोडेनले दिँदै आयोजक, सहभागी, अतिथि र दर्शकहरूप्रति आभार प्रकट गरिन् । उनले प्रवासमा रहेका युवाहरूलाई आफ्नो संस्कार र पहिचानप्रति गर्व गर्न उत्प्रेरित गर्ने यस्ता कार्यक्रमहरूको महत्वमाथि प्रकाश पारिन् ।

यो कार्यक्रम नृत्यको माध्यमबाट हिमाली संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने एउटा महत्वपूर्ण प्रयास बनेको छ । आयोजकहरूले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : २९ बजे