अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हार्वर्डले ट्रम्प प्रशासनको संघीय अनुदान रोक्ने निर्णयलाई असंवैधानिक भन्दै मुद्दा दायर गरेको छ । विश्वविद्यालयले सोमबार उक्त कदमबारे जानकारी दिँदै अनुसन्धानका लागि अत्यावश्यक दुई अर्ब डलरभन्दा बढीको अनुदान रोकिएको जनाएको छ ।
हार्वर्ड विश्वविद्यालयका अध्यक्ष एलन एम. गर्बरले विश्वविद्यालय समुदायलाई पठाएको पत्रमा उक्त रोकावटले बाल क्यान्सर, अल्जाइमर र पार्किन्सन रोगमाथि भइरहेका महत्वपूर्ण अनुसन्धानहरूमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् ।
विश्वकै सबैभन्दा धनी विश्वविद्यालय मानिने हार्वर्डले गत हप्ता ट्रम्प प्रशासनद्वारा प्रस्तुत विविधता सीमित गर्ने र यहूदी विरोधी भावना रोक्ने नाममा ल्याइएको शर्तसूची अस्वीकार गरेको थियो । यसको बदलामा ट्रम्प प्रशासनले हार्वर्डसहित अन्य विश्वविद्यालयहरूको संघीय अनुदान रोक्ने निर्णय लिएको थियो ।
“संघीय सरकारको यो हस्तक्षेप दीर्घकालीन रूपमा हानिकारक हुनेछ । हालैका हप्ताहरूमा सरकारले अमूल्य अनुसन्धान सम्भव बनाउन मद्दत गर्ने साझेदारीमाथि व्यापक आक्रमण सुरु गरेको छ” अध्यक्ष गर्बरले विश्वविद्यालय समुदायलाई लेखेको पत्रमा भनिएको बीबीसीले लेखेको छ ।
उनले विश्वविद्यालयको शैक्षिक निर्णय प्रक्रियामा नियन्त्रण जमाउन संघीय अनुदानलाई दबाबको उपकरण बनाइएको आरोप पनि लगाएका छन् ।
ट्रम्प प्रशासनले कर्नेल विश्वविद्यालयबाट १ अर्ब डलर र ब्राउन विश्वविद्यालयबाट ५१० मिलियन डलरको संघीय अनुदान रोक्ने निर्णय गरिसकेको छ । कोलम्बिया विश्वविद्यालयले भने सरकारको केही मागहरू स्वीकार गर्दै ४०० मिलियन डलरको अनुदान जोगाएको छ ।
सरकारको मागमा पाठ्यक्रम, भर्ना र कर्मचारीसम्बन्धी डेटा बाह्य परीक्षण गराउने, र विविधता सम्बन्धी नीतिहरू पुनरावलोकन गर्ने जस्ता विषयहरू समावेश छन् । हार्वर्डले यसलाई “संघीय सरकारद्वारा गरिएको कब्जा” भन्दै तीव्र विरोध जनाएको छ ।
पूर्व राष्ट्रपति बाराक ओबामाले हार्वर्ड विश्वविद्यालयको पक्षमा उभिँदै संघीय अनुदान रोक्नु अवैधानिक भएको बताएका छन् । हार्वर्डले यहूदी विरोधी र मुस्लिम विरोधी गुनासोहरू सम्बोधन गर्न दुई छुट्टाछुट्टै टास्क फोर्स गठन गरेको जानकारी गराएको छ, जसको प्रतिवेदन चाँडै सार्वजनिक गरिनेछ ।
ग्यालपको सर्वेक्षणअनुसार अमेरिकामा उच्च शिक्षाप्रतिको विश्वास विशेषगरी रिपब्लिकन समर्थकहरूमा घट्दो क्रममा छ, जसले विश्वविद्यालयहरूलाई राजनीतिक एजेन्डा अघि सार्ने आरोप लगाउने गरेका छन् ।