३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पूर्वअध्यक्ष रीता वैद्यसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर



बाल मन्दिरको नाममा रहेको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालतमा ठगी अभियोगसहितको मुद्दा दर्ता गरेको हो ।

संगठनलाई ६० करोड ३९ लाख रुपैयाँ हानि नोक्सानी पुर्‍याएको ठहर गर्दै दोषीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना माग दाबी गरिएको छ । साथसाथै, सो रकम प्रतिवादीहरूसँग भराई पाउन माग गरिएको छ ।

मुद्दाका प्रतिवादीहरूमा नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, श्यामकुमार आले, सुवासकुमार पोख्रेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ (कोने), सदस्य कृष्णशंकर साह, योगेन्द्रबहादुर शाही, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ तथा बृहस्पति विद्या सदनका सञ्चालकहरू प्रविणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेय छन् । तीमध्ये सिंघानिया, केडिया र पाण्डेय भारतीय नागरिक हुन् ।

पञ्चायतकालमा अनाथ बालबालिकाको हेरचाहका लागि अधिग्रहण गरिएको ११९ रोपनीमध्ये २९ रोपनी ४ आना जग्गा बिनाप्रतिस्पर्धा बृहस्पति विद्या सदनलाई लिजमा दिँदा अनियमितता भएको अभियोगमा छ। २०४९ सालदेखि सुरु भएको लिज सम्झौता पटक–पटक संशोधन हुँदै २१३१ सालसम्म पुर्‍याइएको छ । सम्झौतामा सस्तो दरमा भाडा निर्धारण गरिएको, उचित प्रतिस्पर्धा नगरिएको, भाडा विवरण अभिलेखमा नदेखिएको तथा जग्गा उपयोगमा पारदर्शिता नदेखिएको आरोप छ ।

पूर्वअध्यक्ष वैद्यले तरुण निर्माण सेवासँग ७५ लाख रुपैयाँ लिएको स्वीकार गरेकी छन्, जुन रकम संगठनको खातामा दाखिला नगरिएको उल्लेख छ । यस्तै, बृहस्पतिले सो जग्गा धितो राखी ३० करोड रुपैयाँ ऋणसमेत लिएको पुष्टि बैंक अफ काठमाडौंको विवरणबाट भएको छ ।

नेपाल बाल संगठनकै अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सो प्रतिवेदनका आधारमा महान्यायाधिवक्ताको कार्यालयले ठगी मुद्दा चलाउने निर्णय गरेको हो । यस प्रकरणमा संलग्न तत्कालीन अध्यक्ष चिरन्जीवी तिवारी, कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र उपमहासचिव सुमन शाक्यको मृत्यु भइसकेकाले उनीहरूको हकमा मुद्दा नचलाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ११ : ०४ बजे