बिल गेट्स
जब मैले पहिलो पटक आफ्नो सम्पत्ति कसरी दान गर्ने भनेर सोच्न थालेँ, म कुनै पनि नयाँ परियोजनाको सुरुवात गर्दा जस्तै धेरै किताब पढ्न थालेँ । मैले महान परोपकारीहरू र तिनका फाउण्डेशनबारे किताब पढें ताकि म कसरी समाजलाई फर्काउने भन्ने निर्णय गर्न सकूँ । साथै, मैले विश्व स्वास्थ्यसम्बन्धी किताबहरू पनि पढें ताकि मैले समाधान गर्न चाहेका समस्याहरूलाई राम्ररी बुझ्न सकूँ ।
मैले पढेका उत्कृष्ट सामग्रीहरूमध्ये एक थियो सन् १८८९ मा एन्ड्र्यु कार्नेगीले लेखेको निबन्ध “द गस्पेल अफ वेल्थ” । यसले धनीहरूलाई आफ्नो स्रोत समाजमा फर्काउनु पर्ने जिम्मेवारी भएको तर्क गर्छ, जुन समयको लागि क्रान्तिकारी विचार थियो र आजको परोपकार प्रणालीको जग बन्यो ।
निबन्धको सबैभन्दा चर्चित लाइनमा कार्नेगी भन्छन्, “धेरै सम्पत्तिसहित मर्ने मानिस लाजमर्दो मर्छ ।” म हालसालै यो भनाइबारे धेरै सोच्दै आएको छु । मानिसहरूले म मरेपछि धेरै कुरा भन्नेछन्, तर म “उनी धनी मरे” भन्ने कुरा भन्न पाउने अवस्था नरहोस् भन्ने सुनिश्चित गर्न चाहन्छु । समाजमा यति धेरै गम्भीर समस्या छन् कि ती समाधान गर्न सकिने स्रोतहरूलाई म आफूसँग राखेर बस्न सक्दिनँ ।
त्यसैले मैले पहिलेको योजना भन्दा धेरै छिटो समाजमा सम्पत्ति फर्काउने निर्णय गरेको हुँ । अबका २० वर्षभित्र, मैले गेट्स फाउण्डेशनमार्फत आफ्नो प्रायः सबै सम्पत्ति दान गर्नेछु, जसले संसारभर जीवन बचाउने र सुधार्ने कार्यमा सहयोग पुर्याउनेछ । र सन् २०४५ डिसेम्बर ३१ मा फाउण्डेशन स्थायी रूपमा बन्द हुनेछ ।
यो हाम्रो प्रारम्भिक योजना भन्दा केही फरक हो । जब मैले र मेलिन्डाले सन् २००० मा गेट्स फाउण्डेशन सुरु गर्यौं, हामीले पहिलो चार्टरमै एउटा प्रावधान राख्यौँ, यो संस्था हाम्रो मृत्युपछि केही दशकमा बन्द हुनेछ । तर केही वर्षअघि मैले यो योजना फेरि सोच्न थालेँ । हालसालै, बोर्डको सुझावसँगै, मलाई लाग्छ हामीले फाउण्डेशनको लक्ष्य छोटो अवधिमा पूरा गर्न सक्छौँ, विशेषगरी यदि हामीले महत्वपूर्ण क्षेत्रमा लगानी दोब्बर बनायौं र हाम्रा साझेदारहरूलाई स्पष्टता दियौं भने ।
गेट्स फाउण्डेशनको पहिलो २५ वर्षको अवधि, (जसमा वारेन बफेटको उदारताले ठूलो भूमिका खेलेको थियो) हामीले १०० अर्ब डलरभन्दा बढी दान गर्यौं । अबका २० वर्षमा हामी यो रकम दोब्बर बनाउनेछौं । बजार र मुद्रास्फीताको आधारमा निश्चित रकम घटबढ हुन सक्छ, तर मलाई विश्वास छ कि अबदेखि २०४५ सम्म फाउण्डेशनले २०० अर्ब डलरभन्दा बढी खर्च गर्नेछ । यो रकममा फाउण्डेशनको मौज्दात र मेरो आगामी योगदान समावेश छ ।
यो निर्णय मेरो लागि एक चिन्तनशील क्षणमा आएको हो । फाउण्डेशनको २५ औं वार्षिकोत्सव मात्र होइन, यस वर्ष अन्य केही विशेष अवसरहरू पनि छन्, यो वर्ष मेरा पिताजी (जिनले फाउण्डेशन स्थापना गर्न मलाई सहयोग गर्नुभएको थियो) १०० वर्ष पुग्नुहुन्थ्यो; माइक्रोसफ्टको ५० औं वर्षगाँठ हो; र म अक्टोबरमा ७० वर्षको हुँदैछु ।
यो सम्पूर्ण प्रगतिमा मेरो मित्र वारेनको अद्वितीय उदारता र पिताजीको प्रेरणाले महत्वपूर्ण भूमिका खेलेको छ ।
अब म त्यस्तो उमेरमा पुगेको छु, जहाँ धेरैजसो मानिसहरूले अवकाश लिन्छन् । म कुनै पनि व्यक्तिले समय टेबल टेनिस खेल्दै बिताउने निर्णयको सम्मान गर्छु, तर त्यो जीवनशैली मेरा लागि होइन । कम्तिमा पूर्णकालिक त होइन नै । म भाग्यशाली छु, किनभने म हरेक दिन उत्साहित भएर काम गर्न तयार हुन्छु । म रणनीतिक समीक्षाहरू, साझेदारहरूसँग बैठकहरू, र अध्ययन भ्रमणहरूसँग आफ्नो दिनहरू पूर्ण पार्न चाहन्छु ।
गेट्स फाउण्डेशनको उद्देश्य अझै यही हो । तपाईंको जन्मस्थानले तपाईंको अवसर निर्धारण गर्नु हुँदैन । म भविष्यप्रति उत्साहित छु, जहाँ संसारका हरेक ठाउँका मानिसहरूले स्वस्थ र उत्पादक जीवन बिताउने सम्भावना पाउँछन् ।
हामीले Gavi र Global Fund को स्थापना प्रक्रियामा केन्द्रीय भूमिका खेल्यौं, जसले संसारभर जीवनरक्षक औषधी र खोपहरू उपलब्ध गराउने प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्यायो । यी दुई संस्थाले हालसम्म ८० मिलियनभन्दा बढी जीवन बचाएका छन् । Rotary International सँग मिलेर पोलियो उन्मूलनको प्रयासलाई पुनः सक्रिय गर्न हामीले महत्वपूर्ण भूमिका खेलेका छौं । हामीले रोटाभाइरसविरुद्धको नयाँ खोप विकासमा सहयोग गर्यौं, जसले बालबालिकाहरूमा हुने डायरियाबाट मृत्यु दरमा ७५ प्रतिशत गिरावट ल्याएको छ । हरेक कदममा हामीले अन्य फाउण्डेशनहरू, गैरसरकारी संस्था, सरकार, बहुपक्षीय निकायहरू, र निजी क्षेत्रलाई साझेदारको रूपमा संलग्न गर्यौं । आगामी २० वर्षसम्म पनि गरिरहनेछौं।
आगामी २० वर्षमा, गेट्स फाउण्डेशनले यथासम्भव धेरै जीवन बचाउने र सुधार गर्ने लक्ष्य राख्नेछ । हाम्रो दान तीव्र बनाएर, म आशा गर्छु कि हामी संसारलाई आमाहरू र नवजात शिशुहरूको मृत्यु अन्त्य गर्ने दिशामा लैजान सक्छौं, र लाखौँ मानिसलाई गरिबीबाट मुक्त पार्न सक्छौं । म विश्वास गर्छु कि हामी आगामी पुस्तालाई अझ सक्षम र चुनौतीहरूको सामना गर्न तयार पार्न सक्छौं।
संसारलाई सुधार्ने काम सधैं सामूहिक प्रयास हो । म फाउण्डेशनले पहिलो २५ वर्षमा प्राप्त गरेको उपलब्धिप्रति गर्व गर्छु, तर मलाई थाहा छ, त्यो सबै महान् साझेदारबिना सम्भव हुने थिएन ।
विश्वभर वैज्ञानिकहरूले नयाँ आविष्कार गर्छन् । निजी कम्पनीहरूले जीवनरक्षक प्रविधिहरू विकास गर्छन् । परोपकारी व्यक्तिहरूको उदारताले प्रगतिमा इन्धन थप्छ । स्वास्थ्यकर्मीहरू ती प्रविधिहरू जनतासम्म पुर्याउँछन् । सरकार, एनजीओ, र बहुपक्षीय संस्थाहरू समाधानहरू कार्यान्वयन गर्छन् । यी सबैको भूमिकाले विश्वलाई अगाडि बढाउँछ, र म तिनको प्रयासलाई समर्थन गर्न पाउँदा गर्व गर्छु ।
Rotary International सँग मिलेर, गेट्स फाउण्डेशनले पोलियो उन्मूलनको प्रयास पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । म ती स्वास्थ्यकर्मीहरूलाई अत्यधिक सम्मान गर्छु जसले जीवनरक्षक प्रविधिहरूलाई सर्वसुलभ बनाउँछन् ।
सत्य के हो भने, गेट्स फाउण्डेशन मेरो सबैभन्दा ठूलो दान परियोजना भए तापनि, यो मेरो योगदानको एकमात्र माध्यम होइन । मैले ऊर्जा नवप्रवर्तन र अल्जाइमर अनुसन्धानमा पनि ठूलो समय र रकम खर्च गरेको छु । आजको यो घोषणाले ती क्षेत्रहरूमा मेरो दृष्टिकोणमा कुनै परिवर्तन ल्याउँदैन ।
सस्तो, स्वच्छ ऊर्जामा सबैको पहुँच हुनुपर्ने हो । मैले Breakthrough Energy मार्फत नयाँ ऊर्जामा काम गर्ने कम्पनीहरूमा लगानी गरिरहेको छु, जसले प्रदूषण कम गर्दै ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेका छन् । मैले TerraPower नामक कम्पनी पनि सुरु गरेको छु, जसले सुरक्षित र स्वच्छ नयाँ पुस्ताको न्यूक्लियर प्रविधि विकास गर्दैछ । यी परियोजनाहरू सफल भएमा नाफा कमाउँछन्, र त्यो नाफा म पुनः फाउण्डेशनलाई दान गर्नेछु, जस्तै आज गरिरहेको छु ।
मैले अल्जाइमर रोग र सम्बन्धित मानसिक रोगहरूको अनुसन्धानमा पनि सहयोग पुर्याइरहेको छु । यो रोग अमेरिका मात्र होइन, संसारभर गम्भीर संकट बन्दै गएको छ । तर वैज्ञानिकहरूले हालसालै यसको उपचारको दिशामा उत्साहजनक प्रगति गरिरहेका छन् । म उनीहरूको प्रयासलाई आवश्यक परेको समयसम्म समर्थन गर्दै जान्छु ।
यी क्षेत्रमा हुने सफलताले अन्ततः फाउण्डेशनलाई दिइने कुल दानको मात्रा निर्धारण गर्नेछ, किनभने यी परियोजनाहरूबाट आउने मुनाफा पनि मेरो सम्पूर्ण दानको भाग हुनेछ ।