२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

नेजाको नवौं अधिवेशनको मे १० र ११ मा



नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन मे १० र ११, २०२५ मा नेभाडा राज्यको लस भेगस सहरमा हुने भएको छ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कन्भेनर रोशन अधिकारीले जानकारी दिए । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको उद्घाटन सत्रमा अतिथि र पत्रकारहरू गरी २ सय जनाको सहभागिता रहने उनको भनाई रहेको छ । साथै, सो अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा अमेरिका आइसकेकी छन् ।

यसैगरी, नेजाको नवौं अधिवेशन प्रक्रियामा सहभागी हुन ८१ जना सदस्यले रजिस्ट्रेसन गरेको महासचिव बाबुराम दाहालले जानकारी दिए । अधिवेशनका क्रममा नेजाको वार्षिक प्रकाशन ‘प्रयास’को प्रकाशन गर्नुका साथै पत्रकारिता पुरस्कार र पत्रकारिता सम्मान समेत वितरण गरिने महासचिव दाहालले बताए । मे १० मा हुने उद्घाटन सत्रमा नेपाल र अमेरिकाका विभिन्न संघ-संस्थाबाट अतिथिहरु सहभागिता हुने छन् ।

अधिवेशन लस भेगसको प्यालेस स्टेसनमा हुनेछ । नेजाको अधिवेशनलाई लिएर लस भेगसका नेपाली समुदायले पनि सक्रिय रुपमा सहयोग गरिरहेका छन् । एनआरएनए अमेरिका नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले नेजाको यो अधिवेशनलाई लस भेगसको नेपाली समुदायले निकै महत्त्वका हिसाबले हेरिरहेको बताउँदै नेजाको अधिवेशन लस भेगसको नेपाली समुदायको गतिविधि बाहिर लैजान महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ३७ बजे