काठमाडौं । भारतको पहलगाममा भएको आतंकवादी आक्रमण र भारत–पाकिस्तानबीच बढ्दो सैन्य तनावपछि नेपाल सरकारले नेपाल–भारत सीमा नाकाबाट हुने आवागमनमा परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले दक्षिणतर्फका अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रा गर्न चाहने नागरिकलाई अनिवार्य रूपमा परिचयपत्र देखाएर मात्र ओहोरदोहोर गर्न दिने व्यवस्था लागू गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार हालैको घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग तथा सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष सुरक्षा निगरानीका लागि निर्देशन दिइएको छ । “विकसित परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन निर्देशन दिइसकेका छौं,” तिवारीले बताएका छन् ।
पछिल्लो आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएपछि भारत–पाकिस्तानबीच तनाव युद्धस्तरमा पुगेको छ । उक्त आक्रमणको जिम्मा लस्कर–ए–तोयबासँग जोडिएको ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले लिएको थियो ।
सीमा सुरक्षामा कडाइ
गृह मन्त्रालयको परिपत्रपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकामा गस्ती तथा चेकिङ तीव्र पारेका छन् । सशस्त्र प्रहरीले साढे दुई सय बोर्डर आउट पोस्ट (बीओपी) मार्फत सुरक्षा व्यवस्था कडा बनाएको छ भने प्रहरीका ६० भन्दा बढी सीमा युनिट परिचालनमा छन् । थप जोखिमका मूल्याङ्कनपछि अन्य युनिट पनि परिचालनमा छन् ।
सुरक्षा निकायका अनुसार आवागमन गर्ने यात्रुको परिचयपत्र अनिवार्य गरिएपछि कुन व्यक्ति कहाँबाट आएको, गन्तव्य कहाँ हो, र यात्रा प्रयोजन के हो भन्ने विवरण अभिलेखमा राखिनेछ । यसले सीमाबाट हुने घूसपैठ र गैरकानुनी गतिविधिमा रोक लगाउने उद्देश्य राखेको बताइएको छ ।
भारतसँग खुला सीमा भएकाले करिब १,८८० किलोमिटरको लामो सीमाबाट हुने आवागमन व्यवस्थापन चुनौतीपूर्ण मानिएको छ । खासगरी साना र अव्यवस्थित नाकाबाट हुने आवागमनमा जोखिम उच्च रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ । विगतमा अफगान र रोहिंग्या नागरिकहरू नेपाल प्रवेश गरेको उदाहरण दिँदै अधिकारीहरूले यसपटक चनाखो हुनुपर्ने बताएका छन् ।
‘ट्राभल एडभाइजरी’ जारी
नेपाल सरकारले भारत र पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई सचेत रहन आग्रह गर्दै ‘ट्राभल एडभाइजरी’ पनि जारी गरेको छ । दिल्लीस्थित नेपाली राजदूतावास र इस्लामावादस्थित नेपाली दूतावासले नेपालीलाई आपत्कालीन अवस्थाको लागि सम्पर्क गर्न आग्रह गरेका छन् ।
दिल्लीस्थित राजदूतावासले एक सूचना जारी गर्दै भनेको छ, “भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन अनुरोध गरिन्छ।” त्यस्तै, परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नागरिकको सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपले सचेत रहेको बताएको छ ।