सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाली सेनाका दुई बहालवाला र दुई अवकाशप्राप्त सैनिक अधिकारीविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको छ । सेनाले बहालवाला सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीको “कोर्ट अफ इन्क्वाएरी” बाट संलग्नता पुष्टि भएपछि कोर्ट मार्सलको प्रक्रिया सुरु गरिएको नाएको छ ।
अवकाशप्राप्त जमदार आत्मराम थापा र तत्कालीन सेनानी लक्ष्मण अधिकारीविरुद्ध भने सैनिक कानुन लागु नहुने भएकोले प्रहरीले अनुसन्धान अघि बढाएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरको अनुसन्धानपछि उनीहरूमाथि आपराधिक विश्वासघातको आरोपमा अदालतमा मुद्दा दायर गरिएको छ ।
प्रहरीका अनुसार थापालाई पक्राउ गरी हिरासतमा राखिएको छ भने अधिकारी अमेरिका पलायन भइसकेकाले फरार सूचीमा छन् ।
उनीहरूले नेपाली सेनाको कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखाबाट काल्पनिक नाम खडा गरी रकम निकासा गरी हिनामिना गरेका आरोप लगाइएको छ । सेनाको आन्तरिक छानबिन अनुसार चारजना मिलेर २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना गरेका थिए ।
थापाको संलग्नतामा मात्र २०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ सम्म १४४ थान चेकबाट एक करोड ४७ लाख २१ हजार ३२९ रुपैयाँ ८८ पैसा र २०७३ फागुन ९ देखि २०७५ असोज १७ सम्म ४० थान चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ ६० पैसा हिनामिना भएको खुलेको छ ।
थापाले प्रहरी समक्ष दिएको बयान अनुसार, उक्त कार्य उनीभन्दा वरिष्ठ अधिकारीहरुको निर्देशनमा गरिएको हो । उनका अनुसार, सहायक रथी खड्का, सेनानी कार्की र लक्ष्मण अधिकारीको निर्देशन अनुसार चेक तयार पारिने, रकम झिकिने र ती अधिकारीहरूलाई बुझाउने गरिएको थियो ।
सैनिक ऐन अनुसार बहालवाला सैनिकमाथिको कारबाही सेनाले आफैं गर्ने व्यवस्था रहेकाले खड्का र कार्कीलाई सैनिक हिरासतमा राखिएको छ । अवकाशप्राप्त व्यक्तिमाथि भने प्रहरीमार्फत कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।