सत्तारुढ दलहरु एमाले र कांग्रेसबीच नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस बनाउन सहमति भएपछि विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन् । सरकारले उनलाई गभर्नरमा सिफारिस समितिको सदस्य बनाउको थियो ।
यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भए पनि कामु गभर्नर निलम ढुङ्गानाले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा स्वीकृत नगरेपछि समस्या परेको थियो ।
अन्तत प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भट्टलाई छाडेर पौडेललाई नियुक्त गर्न सहमती भएको हो । सोही कारण पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका हुन् ।
समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए ।
यसअघि पनि राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले सिफारिस समितिबाट राजीनामा दिएपछि अधिकारीलाई नयाँ सदस्य बनाइएको थियो । पौडेलको ठाउँमा सरकारले अर्थशास्त्रीहरूमध्येबाट कसैलाई सदस्य नियुक्त गर्नुपर्ने हुन्छ ।