९ असार २०८२, सोमबार | Mon Jun 23 2025

बुद्ध धर्म: सम्प्रदाय नभई अभ्यासका विविध परम्परा



ल्हाक्पा गेलु शेर्पा
lhakpagelus@gmail.com

बुद्ध धर्म विश्व सभ्यताको इतिहासमा एक गहिरो र परिवर्तनकारी दर्शन हो, जसले करिब २५ सय वर्षदेखि मानव चेतनाको विकास, सामाजिक परिवर्तन, र चित्तको अनुसन्धानको मार्गमा अद्वितीय प्रभाव पार्दै आएको छ। तर आज जब हामी बुद्ध धर्मलाई हेर्छौं, हामी यसभित्र थेरवाद, महायान, वज्रयान, तथा तिब्बती हिमाली बुद्ध धर्मका विभिन्न शाखाहरू जस्तै न्यिङ्मा, काग्यु, शक्य र गेलुग देख्दछौ। सामान्यतः यस्ता विविध प्रवृत्तिहरूलाई “सम्प्रदाय” भनेर वर्गीकृत गरिन्छ, तर गहिरो विश्लेषण गर्दा थाहा हुन्छ कि यी भिन्नता सम्प्रदाय होइन, परम्परा र अभ्यासका विविध रूपहरू हुन्। यी सबै भिन्न धाराहरू एउटै मूल शिक्षाको सांस्कृतिक, भौगोलिक, भाषिक र ऐतिहासिक अनुकूलन हुन्, जसले बुद्ध धर्मको व्यापकता र समावेशी दृष्टिकोणलाई प्रतिबिम्बित गर्छन्।

बौद्ध धर्मको मूल सन्देश मानवीय दुःख, त्यसको कारण, त्यसबाट मुक्ति पाउने उपाय, र मुक्ति प्राप्त गर्ने मार्ग—यिनै चार सत्यहरूमा केन्द्रित छ, जसलाई ‘चतुरार्य सत्य’ भनिन्छ। शाक्यमुनि बुद्धले ‘अप्प दीपो भव’ अर्थात् ‘आफैं आफ्नो उज्यालो बन’ भन्ने शिक्षाद्वारा मानिसलाई अन्धविश्वास, बाह्य कर्मकाण्ड र अरूमा निर्भर हुने मुक्ति कल्पनाबाट टाढा रही, सत्य ज्ञानको मार्गमा अग्रसर हुन प्रेरित गरेका थिए।

बुद्ध धर्मको मूल स्वरूप व्यक्तिगत अनुभूति, विवेक, र स्वयं निरीक्षणमा आधारित छ। यसले मानव चेतनालाई आफ्नो अन्तरात्मासँग साक्षात्कार गराएर दुःखको कारण बुझ्न र त्यसको समाधान खोज्न उत्प्रेरित गर्छ। यसैले बुद्ध धर्मलाई सम्प्रदाय नभई ‘मार्ग’ (path) को रूपमा बुझ्नु आवश्यक छ।। यस्तो मार्ग जसले मुक्ति र सम्यक् जीवनको सम्भावना सबैमा देख्दछ।

बुद्धको महापरिनिर्वाण (४८७ ईसा पूर्व )पछि उनका अनुयायीहरूले उनको शिक्षालाई सुरक्षित, शुद्ध र प्रभावकारी रूपमा भावी पुस्तामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण प्रयास गरे। प्रारम्भमा शिक्षाहरू मौखिक परम्परामार्फत संरक्षण गरिए ,जसलाई श्रुति परम्परा पनि भनिन्छ। त्यसपछि समयक्रममा ती शिक्षाहरूलाई लिपिबद्ध गरी विविध सूत्र र विनयमा समावेश गरियो।

यद्यपि बुद्धको शिक्षाको मूल उद्देश्य दुःखको अन्त्य र मुक्तिको मार्ग स्थिर नै रह्यो, तर विभिन्न भूगोल, जातीय पृष्ठभूमि, भाषिक वातावरण र राजनैतिक संरचनाका कारण ती शिक्षाहरूको व्याख्या, अनुभव, र अभ्यास विभिन्न ढाँचामा विकास हुन थाले। परिणामस्वरूप, बौद्ध धर्मभित्र तीन प्रमुख परम्परागत धाराहरूको उदय भयो, जसलाई प्रायः “त्रियान” (Three Vehicles / Yāna) भनेर चिनिन्छ:

१. थेरवाद (Theravāda):
थेरवाद परम्परालाई “बुद्धका जेष्ठ अनुयायीहरूको मार्ग” अथवा “पुरानो मार्ग” भनिन्छ। यसको आधार पाली क्यानन (Tipiṭaka) मा छ, जुन बौद्ध शिक्षाको सबैभन्दा प्राचीन मौलिक सङ्ग्रह मानिन्छ। थेरवाद परम्परा श्रीलंका, थाइल्याण्ड, म्यानमार, क्याम्बोडिया र लाओस जस्ता दक्षिण एसियाली तथा दक्षिण–पूर्वी एसियाली देशहरूमा प्रमुख रूपमा प्रचलित छ। यस परम्पराले शील, समधि र प्रज्ञा मार्फत व्यक्तिगत मुक्ति (अर्हत्व प्राप्ति) मा जोड दिन्छ। निर्वाण प्राप्त गर्ने व्यक्तिको जिम्मेवारी व्यक्तिगत अनुशासन, ध्यान र सम्यक दृष्टिमा आधारित छ।

२. महायान (Mahāyāna) :
महायान परम्पराको विकास करिब ई.पू. १औँ शताब्दीदेखि सुरु भएको मानिन्छ। यसको प्रसार चीन, जापान, कोरिया, मंगोलिया, र भियतनामसम्म फैलिएको छ। महायान दर्शनको मूल आधार सर्वप्राणीको मुक्तिको प्रतिबद्धता हो। यसको केन्द्रीय विचार “बोधिसत्व” मार्ग हो अर्थात् मुक्ति प्राप्त गर्ने व्यक्तिले आफू मात्र नभई सबै प्राणीको कल्याणका लागि प्रयास गर्ने। महायानले करुणा, प्रज्ञा, र शून्यता जस्ता अवधारणामा गहिरो ध्यान दिन्छ। यसले अधिक लचिलो धार्मिक अभ्यास, बहुल व्याख्या, तथा प्रतीकात्मक सूक्तिहरूलाई आत्मसात् गर्दछ।

३. वज्रयान (Vajrayāna):
वज्रयान परम्परा महायानको गहिरो र तान्त्रिक रूप हो, जसको विकास हिमाली क्षेत्रहरू विशेषतः तिब्बत, नेपाल, भूटान, र मंगोलियामा भएको हो ।
यस परम्पराको विशेषता तान्त्रिक साधना, मन्त्र जप, दृश्यचित्रण, मुद्रा, मण्डल अभ्यास, र गुरु–शिष्य परम्परा हो । वज्रयानलाई “तीव्र मार्ग” पनि भनिन्छ, किनभने यसले ध्यानमार्गमा तीव्रता र गहिराइ ल्याउने विशेष साधनाहरू (upāya) प्रयोग गर्दछ। यसमा आध्यात्मिक अनुशासन, गुरु शिक्षा, र प्रतीकात्मक क्रियाहरूको विशेष भूमिका रहन्छ। वज्रयानले व्यक्तिलाई छोटो समयमा नै मुक्ति प्राप्त गर्न सम्भव बनाउने उपायहरू प्रस्तुत गर्दछ, तर यसको अभ्यास गहिरो गुरु मार्गदर्शन र समर्पणमा आधारित रहन्छ। यी परम्पराहरूले मूल शिक्षालाई विस्थापित नगरी, आफ्ना सांस्कृतिक परिवेशअनुसार त्यसको अभिव्यक्ति र अभ्यासमा विविधता ल्याएका हुन्।

तिब्बती हिमाली परम्पराका चार प्रमुख परम्पराहरुः
तिब्बती हिमाली धर्म वज्रयानको विशिष्ट रूप भए पनि यसमै तीनै पराम्पराको अभ्यास देखिन्छ् जसभित्र चार प्रमुख परम्पराहरू विकसित भएका छन; न्यिङ्मा, काग्यु, शक्य र गेलुग। यी परम्पराहरू गुरु-शिष्य परम्परा, ध्यान अभ्यास, शास्त्र अध्ययन र तान्त्रिक विधिमा फरक भए पनि, सबैको लक्ष्य दुःखको अन्त्य र बुद्धत्व प्राप्ति हो।

१. न्यिङ्मा (Nyingma)परम्परा:
न्यिङ्मा परम्परा तिब्बती बौद्ध धर्मको सबैभन्दा पुरानो शाखा हो, जसलाई “पुरानो परम्परा” भनेर चिनिन्छ। यस धाराले गुरु पद्मसम्भव (८औँ शताब्दी) को शिक्षालाई आफ्नो मूल आधार मान्दछ। गुरु पद्मसम्भवलाई तिब्बतमा बौद्ध धर्मको तान्त्रिक अनुशासनसहित प्रवेश गराउने महान गुरुको रूपमा सम्मान गरिन्छ। हिमाली बौद्ध समुदायमा उहाँलाई दोस्रो बुद्धको रूपमा मानिन्छ।
न्यिङ्मा परम्पराको विशेषता यसमा पाइने तन्त्र, गोप्य शिक्षा र ध्यान पद्धति, विशेषतः ‘द्जोगछेन’ (Dzogchen) अर्थात् “महान् पूर्णता” को अभ्यास हो। यो ध्यानमार्गमा अन्तिम वास्तविकता वा सहज स्वभावको प्रत्यक्ष अनुभवलाई केन्द्रमा राखिन्छ।
तिब्बतका ३८ औँ धर्म राजा त्रिसोंग देउत्सेन (७९०–८५८) ले भारतबाट गुरु पद्मसम्भव, आचार्य शान्तरक्षित, पण्डित विमलमित्र लगायतका १०८ महान विद्वान तथा गुरुहरूलाई आमन्त्रण गरी सम्पूर्ण तिब्बतमा बुद्ध धर्मलाई पूर्ण रूपमा फैलाउनुभयो। वैरोचना, कावा पेल्त्सेग, छोङरो लुई ग्याल्त्सेन, झाङ येशे दे लगायतका अन्य महान् अनुवादकहरूले त्यस समय भारतमा प्रचलित अधिकांश सूत्र र तन्त्र शिक्षाहरू तिब्बती भाषामा अनुवाद गरे।यस अनुवादको कालखण्ड फरक भएकाले तिब्बतमा ‘ङाग्युर निङमापा’ (पहिला अनुवाद गरिएका) र ‘सार्मापा’ (पछि अनुवाद गरिएका) नामका परम्पराहरू स्थापित भए।

निङमा परम्परामा दुई प्रकारका शिक्षाहरू समावेश छन्: कामा र तेरमा। कामा शिक्षा भनेको भगवान बुद्धले धर्मकाय वा सम्भोगकायको रूपमा प्रकट भई प्रदान गरेका अन्तर तन्त्रका गहिरा शिक्षाहरू हुन्, जसलाई महान गुरुहरूले आजसम्म गुरु-शिष्य परम्परामा निरन्तर हस्तान्तरण गर्दै आएका छन्। तेरमा शिक्षा भनेका गुरु पद्मसम्भवले भविष्यका प्राणीहरूको हितका लागि लुकाएर राखेका शिक्षा हुन्, जुन पछि सिद्ध गुरुहरूले पुनः उद्घाटित गरे।

२. काग्यु (Kagyu) परम्परा:
काग्यु परम्परालाई “मौखिक परम्परा” भनिन्छ, किनभने यसको शिक्षाहरू गुरुबाट शिष्यलाई प्रत्यक्ष हस्तान्तरणमार्फत दिइन्छ। यसको मूल आधार ध्यानमार्ग, विशेषतः महामुद्रा (Great Seal) र छोड (Chöd) जस्ता ध्यान प्रविधिहरूमा केन्द्रित छ। यस परम्पराको उत्पत्ति भारतका महासिद्धहरू तिलोपा, नरोपा, योगिनी निगुमाका शिक्षाबाट भएको हो। तिब्बतमा यी शिक्षालाई लोचवा मार्पाले अनुवाद गरेर प्रचलनमा ल्याए। मार्पाका शिष्य मिलारेपा, र मिलारेपाका शिष्य गम्पोपा जस्ता महान योगी र ध्यान सिद्धहरूले काग्यु परम्पराको संस्थागत रूप दिनुभयो। काग्यु परम्पराको संस्थापन मुख्यतः ११औँ शताब्दीमा भएको मानिन्छ। यसले गहिरो ध्यान अभ्यास, योग साधना, र गुरु शिष्य सम्बन्धको विशिष्ट अनुशासनमा आधारित आध्यात्मिक यात्रालाई जोड दिन्छ। काग्यु परम्परामा मुख्य रूपमा कार्मा काग्यु, ड्रिगुङ काग्यु, ड्रुक्पा काग्यु र बारोम काग्युलाई चार मुख्य उपशाखा (major lineages) मानिन्छ।

३. शक्य (Sakya) परम्परा:
शक्य परम्परा एक सन्तुलित र विद्वतापूर्ण परम्परा हो, जसले शास्त्र (scriptural learning) र विवेक (reasoned analysis) को संयोजनमा जोड दिन्छ। यस परम्परामा लामा सक्य पण्डित (1182–1251) को योगदान विशेष महत्वपूर्ण छ, जसले तिब्बती बौद्ध दर्शनलाई शास्त्रार्थ, तर्कशास्त्र र नैतिक शिक्षाको संयोजनमार्फत समृद्ध गर्नुभयो। शक्य परम्पराको संस्थापन तिब्बतको खोन वंशका राजा कोन्चोक ग्याल्पो ले सन् १०७३ मा गर्नुभएको थियो। उनले स्थापना गरेको शक्य गोन्पा (Sakya Monastery) यस परम्पराको प्रमुख केन्द्र बन्यो। शक्य शब्दको व्युत्पत्ति “फिक्का जमिन” भन्ने अर्थ बोकेको “सक्य” शब्दबाट आएको हो जुन गोन्पा निर्माण गरिएको स्थलको विशेष भू-गोलिक पहिचानलाई जनाउँछ।

४. गेलुग (Gelug) परम्परा:

गेलुग परम्परा तिब्बती बौद्ध धर्मको सबैभन्दा पछिल्लो यद्यपि अत्यन्त प्रभावशाली परम्परा हो। यसलाई “सद्गुणी वंश” (School of the Virtuous) पनि भनिन्छ। यसको स्थापना १४औँ शताब्दीमा महान् दार्शनिक, योगी तथा सुधारक जे छोङ्खापा (Tsongkhapa, 1357–1419) ले गर्नुभएको थियो।

यस परम्पराले जे छोङ्खापा र उनका उत्तराधिकारीहरूले प्रसारित गरेका सूत्र र तन्त्रहरूको अनुशासित र प्रणालीगत अध्ययन-अभ्यासलाई अंगाल्छ। गेलुग परम्परा पुरानो कदाम्प परम्पराको प्रभावमा आधारित छ, जुन भारतीय गुरु अतिशाको शिक्षाबाट स्थापना भएको हो।

जे छोङ्खापाका अनुयायीहरूलाई प्रारम्भमा गदेन गुम्बाको नाममा “गदेनपा” वा “रिवो गदेनपा” को रूपमा चिनिन्थ्यो, जुन गुम्बा स्वयं जे छोङ्खापाले स्थापना गर्नुभएको थियो। कालान्तरमा, विनय शिक्षामा विशेष ध्यान केन्द्रित गरेकाले उनीहरूलाई “गेलुग्पा” अर्थात् “सद्गुणीहरू” को नामले सम्बोधन गरियो। उनीहरूले पहेँलो रङको धार्मिक टोपी लगाउने भएकाले “पहेँलो टोपीधारीहरू” (Yellow Hats) भनेर पनि परिचित भए।

गेलुग परम्पराले भारतीय शास्त्रहरूको दार्शनिक अध्ययनमा विशेष जोड दिन्छ। विशेष गरी नागार्जुनको माध्यमिक (मध्यम मार्ग) दर्शन र शून्यता (रिक्तता) को दृष्टिकोणमा केन्द्रित रहन्छ। भिक्षु अनुशासन (विनय) को कठोर पालना यसको मुख्य आधार हो। अनुशासित मोनास्टिक जीवन, दार्शनिक अध्ययन र तर्कशास्त्रमा आधारित वादविवाद यस परम्पराको विशेषता हो। समयक्रममा, गेलुग परम्पराले तिब्बती धार्मिक तथा राजनीतिक संरचनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो। यद्यपि १४औँ दलाइ लामा यस परम्पराका प्रमुख प्रतिनिधि हुनुहुन्छ, उहाँले चारै प्रमुख तिब्बती परम्पराबाट शिक्षाहरू ग्रहण गर्नुभएको र सबै परम्पराको अभ्यास गर्नुभएको छ। यी चारै परम्पराहरू हिमाली ्बौद्ध समाजमा परस्पर सम्मान, सहअस्तित्व, र पारस्परिक अभ्यासको उदाहरण हुन्।

नेवार वज्रयान परम्परा:
त्यस्तै, नेवार वज्रयान (Newar Vajrayana) वा नेवार बौद्ध धर्म नेपालका नेवार समुदायमा प्रचलित एउटा अद्वितीय र विशिष्ट वज्रयान बौद्ध परम्परा हो। यो परम्परा विशेष गरी काठमाडौं उपत्यका काठमाडौं, भक्तपुर, ललितपुरमा विकसित भएको हो।
नेवार वज्रयान परम्परा लिच्छवीकालीन (४औं–८औं शताब्दी) शासनकालमा प्रारम्भ भएको देखिन्छ, र मल्लकालीन (१२औं–१८औं शताब्दी) शासनकालमा यसको सांस्कृतिक तथा धार्मिक विकास उच्चतम शिखरमा पुगेको पाइन्छ।

नेवार वज्रयानले तन्त्र, मन्त्र, यन्त्र, पूजा, ध्यान, र सांस्कृतिक संस्कारहरूलाई एउटै धार्मिक अभ्यासमा जोडेको छ। यस परम्परामा वज्राचार्यहरू (नेवार पुजारीहरू) मुख्य धार्मिक अगुवा हुन्। शाक्य समुदाय पनि महत्त्वपूर्ण धार्मिक भूमिकामा हुन्छ। वज्राचार्यहरू तान्त्रिक मन्त्रोच्चारण, यन्त्र-मन्त्र र पूजा विधिहरूमा दक्ष हुन्छन् र आफ्ना अनुयायीहरूलाई आशीर्वाद दिन्छन्।
नेवार वज्रयानमा दीपंकर बुद्धलाई सबैभन्दा प्रमुख पूजनीय देवता मानिन्छ। उहाँलाई ज्ञान र सहनशीलताको प्रतीकको रूपमा पूजा गरिन्छ। यस अतिरिक्त, अवलोकितेश्वर, तारा, वज्रपाणी, मंजुश्री जस्ता अन्य देवी देवताहरूको पनि पूजा गरिन्छ। यी देवी देवताहरूको पूजा विशेष तान्त्रिक विधिहरूमा आधारित हुन्छ, जसमा मन्त्र पाठ, मण्डला निर्माण, मूर्ति स्थापना, र प्रसाद समर्पण जस्ता प्रमुख अनुष्ठानहरू गरिन्छ। प्रत्येक पूजा विधि र तान्त्रिक अभ्यासले साधकको मानसिक शुद्धता र आध्यात्मिक उन्नतिको लक्ष्य पुरा गर्न मद्दत पुर्‍याउँछ। मण्डलाका चित्रणहरू र तन्त्र मन्त्रहरूको उपयोग भक्तको ध्यानलाई केन्द्रित गर्न र शक्तिशाली आध्यात्मिक अनुभव प्राप्त गर्न गरिन्छ।

सम्प्रदाय होइन, अभ्यासको विविध परम्पराः
सम्प्रदाय भन्नाले सामान्यत कट्टर संस्थागत संरचना, शक्ति, तथा नीति नियमन प्रणालीलाई जनाइन्छ, जसले अन्य विचारहरू अस्वीकार गर्छ। तर बुद्ध धर्मको विविध परम्पराहरूमा यस्तो कठोर संरचना देखिन्न। यी शाखाहरूले आत्मविकासको मार्गमा विविध दृष्टिकोण र अभ्यासहरू प्रदान गर्छन्, तर एउटै लक्ष्यमा केन्द्रित छन्। यसैले यी परम्पराहरू प्रतिस्पर्धात्मक सम्प्रदाय होइनन्, बरु समान उद्देश्यमा आधारित विविध अभ्यासका मार्गहरू हुन्।

विशेषतः हिमाली बौद्ध समाजमा एक व्यक्तिले न्यिङ्मा, काग्यु, शक्य र गेलुग यी चारै परम्पराका शिक्षालाई एकसाथ सम्मान गर्दै अभ्यास गर्ने परम्परा पाइन्छ। यो अभ्यास विभिन्न परम्पराबीचको समावेशी दृष्टिकोणको उत्कृष्ट उदाहरण हो।

आजको विश्व बहुराष्ट्रिय, बहुसांस्कृतिक र आध्यात्मिक खोजमा रुचि राख्ने समाज हो। बुद्ध धर्मको परम्परागत विविधता यसै सन्दर्भमा अझ प्रासङ्गिक भएको छ। आधुनिक मानिसले ध्यान, करुणा, आत्मनिरीक्षण, र विवेकको खाँचो महसुस गरिरहेको छ। यस्तो अवस्थामा, बुद्ध धर्मका विभिन्न अभ्यासहरूले व्यक्तिगत र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान दिन सक्छन्।

थेरवादले अनुशासन र स्थिरता सिकाउँछ; महायानले करुणा र परोपकार; वज्रयानले साहसिक जागरण र प्रतीकात्मक चिन्तन। यी सबै मिलेर आधुनिक बौद्ध चिन्तनलाई समृद्ध बनाउँछन्।

बुद्ध धर्म कुनै सम्प्रदाय होइन। यसको विविध शाखाहरू थेरवाद, महायान, वज्रयान, र तिब्बती हिमाली परम्पराका न्यिङ्मा, काग्यु, शक्य, गेलुग र नेवारी समुदायका बज्रयान कुनै सम्प्रदाय नभई परम्परा र अभ्यासका बहुआयामिक अभिव्यक्तिहरू हुन्। यी परम्पराहरूले कुनै पनि एक मात्र सत्यको दाबी नगरी, फरक मार्गहरूबाट एउटै सत्य दुःखको अन्त्य, आत्मज्ञान र बौद्धत्वको यात्रा तय गर्छन्। बुद्ध धर्मको वास्तविक सार संगठन वा सीमामा होइन, स्वतन्त्र विवेक, अनुभव र आन्तरिक अनुसन्धानमा निहित छ। यसैले बुद्ध धर्मको सम्पूर्णता बुझ्न यसको विविध परम्पराहरूलाई सम्प्रदायको आँखाले होइन, अनुभव र अभ्यासको यात्राको रूपमा बुझ्नु आवश्यक छ।

भवतु सब्ब मंगलम।।।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ९ : २४ बजे