दक्षिण गाजाको रफाहस्थित एक राहत वितरण केन्द्रमा भएको घटनामा कम्तीमा ३१ जनाको मृत्यु र सयभन्दा बढी घाइते भएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार घटनास्थलमा भेला भएका सर्वसाधारणहरूमा गोली र छर्राले लागेर ठूलो संख्यामा मानिसहरू घाइते भएका छन् ।
एक स्थानीय पत्रकारले बीबीसीलाई बताएअनुसार इजरायली ट्याङ्कहरूले राहत केन्द्र नजिक गोली चलाएका थिए । घटनामा सहभागी चिकित्सकहरूले गोली तथा छर्रा लागेका व्यक्तिहरूको उपचार भइरहेको पुष्टि गरेका छन् ।
तर, इनरायली सेनाले भने उक्त राहत केन्द्र वरपर आफ्नो सेनाले गोली नचालेको दावी गरेको छ । अमेरिका र इजरायलको समर्थनमा गठन गरिएको ‘गाजा ह्युमानिटेरियन फाउन्डेसन’ले पनि घटनालाई “झुटा र मनगढन्ते” भन्दै खण्डन गरेको छ ।
यसैबीच, गाजाको केन्द्र भागको नेतजारिम कोरिडोरमा रहेको अर्को राहत वितरण केन्द्र नजिक कम्तीमा १४ जना घाइते भएको जनाइएको छ । इजरायलदे स्वतन्त्र सञ्चारकर्मी र मानवीय संस्थाहरूलाई गाजामा प्रवेश गर्न नदिएको अवस्थामा घटनाको सत्यता पुष्टि गर्न सकिने अवस्था छैन ।
संयुक्त राष्ट्रसंघीय संस्था यूएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले गाजामा राहत वितरण अब “मृत्युको पासो” बनेको बताएका छन् । उनले इजरायललाई घेराबन्दी अन्त्य गरी मानवीय सहायता पहुँचमा सहजता दिन आग्रह गरेका छन् । “अहिलेको अवस्था हेर्दा स्वतन्त्र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई गाजामा प्रवेश गराई घटनाको निष्पक्ष रिपोर्टिङ् गर्न दिन जरुरी छ,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
रफाह र खान युनिसस्थित अस्पतालहरूमा घाइतेहरूको ओइरो लागेको छ । अस्ट्रेलियन चिकित्सक डा. अहमद अबु स्वेइदले यस घटनालाई “मास क्याजुअल्टी” भनेका छन् । उनका अनुसार राहत लिन गएका सर्वसाधारणहरू गोलाबारीमा परेका हुन् । “धेरैजना महिलाहरू र बालबालिका छन् । कतिपय त मृत अवस्थामा ल्याइएका छन्,” उनले भने ।
बेलायती चिकित्सक डा. थोमस पोटोकारले पनि गाजाको अवस्था अहिलेसम्मकै भयावह रहेको टिप्पणी गरे । “यो मेरो गाजाको १६ औँ भ्रमण हो, तर यस्तो अवस्था मैले कहिल्यै देखेको थिइनँ,” उनले बीबीसीसँग भनेका छन् ।
यसबीच, इजरायलले ‘अपरेसन गिडिओन्स चारियट’ नामक सैन्य अभियान अन्तर्गत गाजामा आक्रमण तीव्र बनाएको छ । हमासका अल-मावासी ब्याटालियनका सेल कमान्डर खालिल अब्द अल-नासर मुहम्मद खतीब शुक्रबार मारिएको इजरायली सेनाले जनाएको छ ।
इजरायली रक्षा मन्त्री इजराएल काट्जले भनेका छन्, “हामी हवाई, स्थल र समुद्री सबै बाटोबाट हमासलाई पूर्ण रुपमा समाप्त पार्न हरसम्भव उपाय अपनाइरहेका छौं । बन्धकहरू नछाड्ने हो भने हमास नष्ट हुनेछ ।”
गाजामा हालसम्म ५४,४१८ भन्दा बढी मानिसको ज्यान गइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको दाबी छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्दा १,२०० भन्दा बढी मानिस मारिएपछि सुरु भएको यो युद्ध अझै रोकिएको छैन ।
युद्ध, भोकमरी, र अब राहत वितरणकै क्रममा भएको निन्दनीय हिंसाले गाजाको मानवीय संकटलाई झन् गम्भीर बनाएको छ । स्वतन्त्र पहुँचबिना सत्य तथ्य पत्ता लगाउन कठिन भइरहे पनि अन्तर्राष्ट्रिय समुदायले तत्काल हस्तक्षेप नगरे स्थिति झनै भयावह हुने देखिन्छ ।









