२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

काठमाडौंमा भारतीय लागुऔषध गिरोह पक्राउ, प्रहरीद्वारा गोली प्रहारमा दुई घाइते



लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले खैरो हेरोइन (ब्राउन सुगर) कारोबार गर्ने एक भारतीय गिरोहलाई काठमाडौंमा पक्राउ गरेको छ । पक्राउको क्रममा प्रहरी र लागुऔषध कारोबारीबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन् भने दुई भारतीय नागरिक प्रहरीको गोलीबाट घाइते भएका छन् ।

प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गरेर काठमाडौं उपत्यकामा लागुऔषध कारोबार गर्दै आएको गिरोह झापाको काँकडभिट्टा नाकाबाट दुई दिनअघि नेपाल प्रवेश गरेको सूचना पाइएको थियो । सोही सूचनाको आधारमा ब्यूरोको टोलीले निगरानी थालेको थियो ।

इन्स्पेक्टर रोकश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलको टोलीले मंगलबार दिउँसो करिब २ बजे काठमाडौं महानगरपालिका–११, सुन्धाराबाट भारतको पठाना दानापुर घर भएका २० वर्षीय सुमित कुमार र २५ वर्षीय चन्दन कुमार जैसवाललाई पक्राउ गरेको थियो । प्रारम्भिक रूपमा उनीहरूको साथमा लागुऔषध नभेटिए पनि सोधपुछपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले प्राप्त सूचनाका आधारमा टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पतालको पछाडि भागेका गिरोहका अन्य सदस्यहरूलाई पक्राउ गर्न खोज्दा उनीहरूले प्रतिकार गरेका थिए । प्रहरीका अनुसार उनीहरूले रड प्रहार गरेर भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिन चार राउण्ड हवाइ फायर र त्यसपछि गोली चलाउनु परेको थियो ।

गोली लागेर घाइते हुनेमा पश्चिम बंगाल इस्लामपुर–११ का ४० वर्षीय सशिक आलम र बिहार गुञ्जियारका २२ वर्षीय मोहमद मन्जुर आलम छन् । सशिकको बाँया खुट्टाको घुँडामुनि एक राउण्ड र मन्जुरको बाँया घुँडामुनि दुई राउण्ड गोली लागेको हो । दुवैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका उनीहरूलाई प्रहरी अस्पताल महाराजगञ्ज प्राथमिक उपचार पछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

शरीर खानतलासी गर्दा केही नभेटिए पनि उनीहरूसँग रहेको वूफर (गित सुन्ने उपकरण) खोलेर हेर्दा त्यसभित्र करिब २०० ग्राम खैरो हेरोइन लुकाइएको फेला परेको ब्यूरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । यो परिमाण लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार गम्भीर अपराधमा पर्छ । यस्तो कारोबारमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र पाँचदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

पक्राउ परेका सशिक आलम यसअघि पनि लागू औषध कारोबारमा पक्राउ परेका थिए र धरौटीमा छुटेका थिए । अनुसन्धानमा खुल्न आएको विवरण अनुसार उनी यसपटक करिब ३०० ग्राम खैरो हेरोइनसहित नेपाल प्रवेश गरेका थिए, जसमध्ये केही बिक्री भइसकेको पाइएको छ ।

पक्राउ गर्ने क्रममा रड प्रहारबाट प्रहरी वरिष्ठ हवल्दार नवराज घिसिङ र सहायक हवल्दार रवीन्द्र केसी घाइते भएका छन् । घिसिङको बायाँ घुँडामा र केसीको दाहिने पाखुरामा चोट लागेको हो । दुवै जनाको उपचार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा भइरहेको छ, अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  १० : २६ बजे