७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंह अख्तियार फन्दामा



मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सिंहलाई काठमाडौँको बिजुलीबजारबाट बिहीबार साँझ करिब ६ बजेतिर नियन्त्रणमा लिइएको हो ।

निर्वाचन क्षेत्र विकास कोषको रकम उपभोक्ता समितिमार्फत कमिसन बुझ्ने गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । ‘सांसद विकास कोषको रकम उपभोक्ता समितिमार्फत खर्च गर्ने गरेको । र आफूले बजेट ल्याइदिएको भन्दै उपभोक्ता समितिबाट २५ देखि ३० प्रतिशतसम्म कमिसन लिने गरेको पाइएको छ,’ अख्तियार स्रोतले भनेको छ ।

जनता समाजवादी पार्टीका सांसद रहेका सिंहको बिरुद्ध उजुरी परेको बताइएको छ । महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सिंहको घरमा पनि यसअघि अख्तियारले छापा मारेको थियो । त्यस्तै प्रहरीले उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई यसअघि नै अख्तियारले पक्राउ गरिसकेको छ ।

अख्तियारले उनको घरबाट विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिएको थियो । उनी मधेस प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत हुन् ।

उपभोक्ता समितिसँग बुझेको कमिसन श्रीमती र स्वकीय सचिवको खातामा राखेको आरोपमा मधेस प्रदेशसभाका सदस्य सरोजकुमार सिंहलाई अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियारले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाइ उपभोक्ता समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाइ आफ्नो, श्रीमती र स्वकीय सचिवकै बैंक खातामा राखेर सरकारी रकम दुरुपयोग गरेको जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ८ : २१ बजे