गत १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलन हिंसात्मक मोड लिएपछि सुरु भएको आपराधिक अनुसन्धानमा ७ जना प्रमुख प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति साढे १२ बजे उनीहरूलाई थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अदालतको आदेश लगत्तै उनीहरूलाई कारागार चलान गर्यो । तीनकुने घटनासँग सम्बन्धित ६१ जनाविरुद्ध ११ जेठमा मुद्दा दायर गरिएको थियो। तीमध्ये ११ जना धरौटीमा रिहा भइसकेका छन् भने केही अझै फरार छन् ।
पुर्पक्ष थुनामा पठाइएका सात जनामा आन्दोलनका मुख्य कमान्डर दुर्गा प्रसाईंसहित कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेत रहेका छन् । उनीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधजस्ता संगीन मुद्दा दायर गरिएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक झापाका दुर्गा प्रसाईं घटनाका जनकमान्डर थिए । प्रहरीले उनीमाथि सुरक्षाकर्मीलाई गाडीले पेल्ने प्रयास गरेको, निषेधित क्षेत्र तोड्न उक्साएको र भिडलाई उत्तेजित बनाएको आरोप लगाएको छ । प्रसाईंको नेतृत्वमा भएको आक्रमणबाट पत्रकार सुरेश रजकको ज्यान गएको थियो । उनीविरुद्ध पाँचवटा संगीन मुद्दा दर्ता छन् ।
ताप्लेजुङका सुशील बराल एटीएफका महासचिवसमेत हुन् । उनले सुनौलो बचत तथा ऋण सहकारी संस्थामा लागेको आगो निभाउन आएका दमकल अवरुद्ध गरेको आरोप छ । सीसीटीभी फुटेजमा उनी अगुवामा देखिएको प्रहरीले जनाएको छ । रामेछापका बस्नेतले जडिबुटी प्रशोधन केन्द्रमा राखिएका सरकारी तथा निजी सवारीसाधनमा आगो लगाएको प्रमाण फुटेजसहित फेला परेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकका तामाङले कार्टुन जलाएर प्रशोधन केन्द्रमा आगो झोसेका थिए । उनले ट्राफिक लाइटमा ढुंगा प्रहार गर्दै तोडफोड गरेको भिडिओ समेत प्रमाणको रूपमा अदालतमा पेस भएको थियो । अछामका रेग्मी शिवसेना नेपालसँग आबद्ध व्यक्ति हुन् । तीनकुनेस्थित सहकारी संस्थामा आगजनी गर्ने समूहमा उनी थिए । यही आगोमा परेर पत्रकार रजकको मृत्यु भएको थियो ।
अछामकै शाही दुर्गा प्रसाईंको गाडीमा सवार थिए । भिडलाई उत्तेजित पार्दै सुरक्षाकर्मीमाथि गाडी चलाउने प्रयासमा उनको संलग्नता देखिएको सीसीटीभी फुटेज सार्वजनिक भएको प्रहरीले जनाएको छ । रामेछापका गौतम एटीआरएफका सदस्य हुन् । उनले संसद भवन कब्जा गर्न उक्साएको, आगजनी र तोडफोडमा संलग्न भएको प्रहरीको भनाइ छ । आगो लगाइरहेको तस्बिरसमेत प्रहरीले प्रमाणको रूपमा पेस गरेको छ ।
थुनछेक बहसपछि अदालतले बाँकी ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । उनीहरूमाथि पनि आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी मुद्दा दायर भएका छन् ।
१५ चैतको आन्दोलन प्रशासनको स्वीकृति पाए पनि हिंसात्मक बन्यो । आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भयो । निषेधित क्षेत्रमा प्रवेश, भिड उक्साउने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने र सार्वजनिक सेवा अवरोध गर्नेजस्ता घटनाहरू भएका थिए ।