इजरायल र इरानबीच चर्किँदै गएको युद्धले त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षामा गम्भीर चुनौती उत्पन्न गराएको छ । करिब ५,५०० नेपाली इजरायलमा कार्यरत रहेको अनुमान छ भने इरानमा पनि केही दर्जन नेपाली रहेका छन् । युद्धको प्रत्यक्ष असरमा परेका नेपालीहरूको सुरक्षा र स्वदेश फिर्तीको लागि नेपाल सरकार सक्रियता देखाएको छ ।
नेपालको परराष्ट्र मन्त्रालय र तेल अभिभस्थित नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दै यात्रा सल्लाह जारी गरेको छ। मन्त्रालयले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।
यसै क्रममा, इजरायल र इरानस्थित नेपालीहरूको विवरण संकलन गर्न दूतावासले अनलाइन दर्ता अभियान सुरु गरेको छ। युद्ध चर्किएसँगै स्वदेश फर्कन चाहने नेपालीहरूले दूतावासमा सम्पर्क गर्न थालेका छन्। यो दर्ता प्रक्रिया उद्धार र व्यवस्थापनमा सहजीकरण गर्नका लागि गरिएको हो।
नेपाल सरकारले उच्चस्तरीय बैठक गरी युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्थाबारे समीक्षा गरेको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र अन्य सम्बन्धित निकायहरूलाई तत्काल समन्वय गरी स्वदेश फिर्तीको सम्भाव्यता अध्ययन गर्न निर्देशन दिइएको छ ।
तर, युद्धका कारण हवाई मार्गमा अवरोध आएको हुँदा फिर्तीको प्रक्रिया जटिल र ढिलो हुने अनुमान गरिएको छ। हाल स्थलमार्गबाट जोर्डन हुँदै नेपालीहरूलाई स्वदेश ल्याउने सम्भाव्यतामा छलफल भइरहेको बताइएको छ, तर भिसा र सुरक्षाको चुनौती त्यसमा पनि विद्यमान छ ।
यस विषयमा राष्ट्रिय सभा लगायतका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले युद्धग्रस्त क्षेत्रका नेपालीहरूको अवस्थाबारे संसदलाई जानकारी गराउन र शीघ्र कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।
सरकारले विश्वका विभिन्न भागमा रहेका आफ्ना नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताउँदै, युद्धग्रस्त क्षेत्रबाट नेपालीको सुरक्षित उद्धार सुनिश्चित गर्न सबै आवश्यक तयारी भइरहेको जनाएको छ ।