विश्वकै सबैभन्दा धनी व्यक्ति मध्येका एक जेफ बेयोस र पूर्व पत्रकार लरेन सान्चेजबीचको विवाह समारोह शुक्रबार, जुन २७ मा भेनिसको एक टापुमा सम्पन्न भयो । तीन दिन लामो यो विवाह उत्सव संसारभरका चर्चित अनुहारहरुको उपस्थितिमा सम्पन्न भए पनि, समारोह अत्यन्तै गोप्य रूपमा आयोजना गरिएको थियो ।
दुई सयभन्दा बढी अतिथिहरू, जसमा किम कार्डासियन, बिल गेट्स, ओप्रा विन्फ्रे, टम ब्रेडी, उसर र कार्ली क्लसजस्ता सेलिब्रिटीहरू थिए । पानी जहाजमार्फत बिबाहस्थल टापुमा पुग्दा फोटोग्राफरहरूले तस्बिर लिन भ्याए, तर त्यसपछि भने सबैजना सामाजिक सञ्जालबाट एकाएक गायब देखिए । अनुमान गरिन्छ, विवाहमा सहभागी सबैलाई सोसल मिडिया ब्ल्याकआउट अनुरोध गरिएको थियो ।
विवाह समारोहपछिको पहिलो झलक भोग पत्रिकाले सार्वजनिक गरेको डिजिटल कभरमार्फत देखाइएको थियो, जसमा सान्चेजले लगाएको डोल्क र गबानाको विशेष डिजाइन गरिएको पोशाक सार्वजनिक गरिएको छ । उक्त लेस कोर्सेटेड गाउन बनाउन एक वर्षभन्दा बढी समय लागेको बताइएको छ । जसमा १८० वटा सिल्क चिफन ढाकिएका बटन प्रयोग गरिएका थिए । रातभर उनले दुईवटा पोशाक परिवर्तन गरिन् । एउटा १९४६ को फिल्म “गिल्डा” मा आधारित पोशाक र अर्को ओस्कर डे ल रेन्टद्वारा तयार पारिएको १,७५,००० क्रिस्टलहरूले सुसज्जित कोकटेल ड्रेस ।
टापुमा आयोजना गरिएको समारोहमा गोपनीयता मात्र नभई सुरक्षा व्यबस्था पनि अत्यन्त कडा पारिएको थियो । विवाहको तयारीकै बीच जलवायु कार्यकर्ता समूहहरुले भेनिसको केन्द्रमा प्रदर्शन गरे, जसमा बेयोसको पुतला, ब्यानर र काल्पनिक अवरोधसमेत देखाइएको थियो । त्यसैले अन्तिम समयमा केही कार्यक्रम स्थलहरू परिवर्तन गरिएको बताइएको छ ।
यद्यपि भेनिसको पर्यटन मन्त्रालयले यो विवाह समारोहले एकै सप्ताहन्तमा भेनिसको वार्षिक पर्यटन आम्दानीको ६८% बराबर गरेको अनुमान गरेको छ, स्थानीय प्रदर्शनकारीहरुले भने यसलाई ‘धनीहरूको शहर हडप्ने’ कोशिसको रुपमा व्याख्या गरेका छन् ।
पूरै हप्ता भेनिस सेलिब्रिटीहरूको फेसन शो जस्तै बन्यो । किन कार्दशिनले आर्काइभल भर्सस् पोशाक लगाए भने ओफ्र विन्फ्रीले ले सोलेस लण्डनको गुलाबी ड्रेस पहिरिइन् । क्होले कार्दशिनले ले डोल्स एण्ड गबानाकोको जनावर छापिएको गाउन लगाइन् । सबैजना पानी जहाजमार्फत टापुतर्फ गएका थिए ।
इटालियन टेनोर आन्द्रे बोसेलीका छोरा माटेओ बोसेलीले गीत गाएर सांगीतिक साँझको सुरुवात गरे । समापन कार्यक्रम भने भेनिसको ऐतिहासिक पूर्व-जहाज कारखानामा आयोजना गरिएको थियो, जहाँ अहिले सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने गर्छन् ।
यो विवाह सन् २०२५ को सबैभन्दा चर्चित र रहस्यमय वैवाहिक समारोह बनेको छ । जहाँ विश्वका धनी, प्रसिद्ध र शक्तिशालीहरू भेला भए, तर एक टापुमा सीमित थिए । फेशन, सुरक्षाको उच्चतम मापदण्ड, सामाजिक मिडिया नियन्त्रण र राजनीतिक–पर्यावरणीय सन्देशहरूसँगै यो विवाह समारोहले विश्वकै ध्यान तान्न सफल भयो ।









