२६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026

३१औं विश्व आदिवासी दिवस सप्ताहव्यापी उत्सवका साथ मनाउने नेफिनको घोषणा



नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले ३१औं विश्व आदिवासी दिवसलाई सप्ताहव्यापी रुपमा भव्य र सशक्त ढंगले मनाउने घोषणा गरेको छ । यही साउन २४ गते (अगष्ट ९) मा विश्व आदिवासी दिवस परेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेफिनले “प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्रसंघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने मूल नाराका साथ दिवस मनाउने जानकारी गराएको हो ।

सप्ताहव्यापी कार्यक्रम साउन १७ गतेदेखि सुरु भई साउन २८ गतेसम्म विभिन्न बहस, अन्तरक्रिया, अवार्ड तथा सांस्कृतिक प्रस्तुतिसहित विविध कार्यक्रम हुनेछन् ।

नेफिनले साउन २४ गते राजधानीको भृकुटीमण्डपबाट झाँकी, जातीय भेषभूषा, सांस्कृतिक झलक र ५ हजारभन्दा बढी सहभागीसहित बृहत र्याली निकाल्ने बताएको छ । र्याली भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोहमा परिणत हुने नेफिनले जनाएको छ ।

उक्त दिनको मुख्य समारोह राष्ट्रिय सभागृहमा आयोजना हुनेछ, जसको उद्घाटन नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले गर्नेछन् । समारोहमा आदिवासी जनजातिका मातृभाषामा आधारित गीत, नृत्य, सांस्कृतिक झाँकी, जातीय खानाका परिकार र स्थानीय कलाकृतिहरुको प्रदर्शनी समेत हुनेछ ।

नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाका अनुसार, यो उत्सव आदिवासी जनजातिहरुको जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचान संरक्षण, मौलिक ज्ञान-सिप प्रवर्द्धन, भूमि तथा श्रोतमाथिको अधिकार सुनिश्चितता र राज्यका सबै निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न बहस पैरवी गर्ने अवसर पनि हो ।

महासचिव दिवस राईका अनुसार, कार्यक्रमको आकर्षणका रुपमा विभिन्न प्रदेशबाट आएका जनजातिहरुको सांस्कृतिक झाँकी, नृत्य तथा परिकारहरुको पनि प्रदर्शन हुनेछ ।

कार्यक्रममा संवैधानिक निकायका प्रमुख, सांसदहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, महासंघका पूर्वप्रमुखहरू, जातीय संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, कलाकार तथा हजारौं जनजाति समुदायका प्रतिनिधिहरूको उपस्थिति रहने बताइएको छ ।

यस अवसरमा मातृभाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिइ कार्यान्वयनमा अगुवाइ गर्ने बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमरकटेल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सम्मान गरिनेछ । बागमतीमा तामाङ र नेपाल भाषा तथा गण्डकीमा मगर र गुरुङ भाषालाई कामकाजको भाषाको रुपमा मान्यता दिइएको छ ।

नेफिनले आदिवासी जनजातिको कला, संस्कृति, पहिचान, भेषभूषा र परिकारको समुचित प्रदर्शन हुने भएकाले ५ हजारभन्दा बढीको उपस्थिति रहने विश्वास व्यक्त गर्दै सभागृह बाहिर पनि कार्यक्रम प्रत्यक्ष प्रशारण गरिने तयारी गरेको छ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नेफिनले विभिन्न संघसंस्थासँग मिलेर विविध कार्यक्रमहरूको सूचीसमेत सार्वजनिक गरेको छ:

साउन १७ – आदिवासी जनजाति अपांग महासंघको सम्मेलन

साउन २० – महिला महासंघको बहस कार्यक्रम

साउन २२ – आदिवासी उत्थान प्रतिष्ठान, एफएओ र यूनेस्कोको मातृभाषा र खाद्य सुरक्षासम्बन्धी अभिमुखिकरण

साउन २२ – आदिवासी जनजाति आयोगद्वारा एआई सम्बन्धी कार्यशाला

साउन २३ – गुरुङ राष्ट्रिय परिषद्को चियापान तथा शुभकामना

साउन २४ – मूल समारोह

साउन २५ – नेपाल मगर संघको अन्तरक्रिया, युवा महासंघको पैदल यात्रा तथा अन्तरसम्वाद, विद्यार्थी महासंघको आदिवासी र एआई विषयक अन्तरक्रिया

साउन २६ – आदिवासी जनजातिहरुको सवलता सम्बन्धी संवाद

साउन २७ – आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवस तथा अवार्ड वितरण

साउन २८ – सुनुवार सेवा समाजद्वारा कला साहित्य पुरस्कार वितरण

नेफिनले ३१औं विश्व आदिवासी दिवसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा आदिवासी जनजातिहरुको अधिकार, पहिचान र अस्तित्वको सशक्त आवाजका रुपमा प्रस्तुत गर्न विशेष तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार  ११ : १५ बजे