२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

उपसभामुख रानाविरुद्ध महाअभियोगको तयारी, विपक्षी दल एकजुट हुँदै



प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई हटाउनका लागि सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको तयारी गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले असफल पार्ने घोषणा गरेका छन् । राना भने हाल अमेरिका भ्रमणमा छिन् ।

कांग्रेस र एमाले सांसदहरुले भने रानालाई हटाउनका लागि हस्ताक्षर अभियान नै चलाएका छन् । दुई सत्तारुढ दलको मात्र सांसदहरुले संसदमा दुई तिहाइ नपुग्ने भएकोले अन्य साना दलहरुलाई पनि फकाउने क्रा जारी रहेको छ ।

सत्तारुढ दलहरुको उपसभामुख रानालाई हटाउने तयारी सम्बन्धमा मंगलबार माओवादीको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले उपसभामुखलाई हटाउन सत्तापक्षले चालेको कदमलाई “लोकतन्त्रको अपमान” भन्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, एकीकृत समाजवादी र आजपा सहभागी थिए ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस–एमालेले उपसभामुखलाई महाअभियोग लगाउने तयारी गरेको भन्दै त्यसको विरोधमा विपक्षी दलहरूको बैठक बोलाइएको बताए । “उपसभामुखका विषयमा कांग्रेस–एमालेले के गर्न खोजेको हो भन्नेबारे प्रतिवाद गर्न विपक्षी दलहरूको बैठक बसेको हो,” उनले भने ।

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुखलाई हटाएर सत्ता गठबन्धनले संवैधानिक परिषद् कब्जा गर्ने नियत राखेकाले विपक्षी दलहरूले प्रतिवाद गर्ने निर्णय गरेको बताए । उनले भने, “यो कदम उपसभामुखको पदअनुकूल आचरणसँग जोडिएको होइन, बरु संवैधानिक परिषद्‌मा बहुमत जुटाउन गरिएका राजनीतिक चलखेल हो ।”

उपसभामुख रानाविरुद्धको विवाद सन् २०२३ मा सुरु भएको हो । उपसभामुख निर्वाचित भएको एक महिनापछि उनले न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महिलासम्बन्धी आयोगमा सहभागी हुन अमेरिका जाँदै गर्दा आफ्नै लेटरप्याडमा पाँच जना व्यक्तिलाई भिसा अन्तरवार्ताको मिति मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

ती व्यक्तिहरूको पृष्ठभूमि अस्पष्ट भएको र उनीहरू अमेरिका जानुपर्ने कारण विश्वसनीय नदेखिएको भन्दै अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । यस घटनालाई कूटनीतिक मर्यादाविपरीत भन्दै त्यसबेला पनि उनको राजीनामा मागिएको थियो । तर, उनले राजीनामा दिन अस्वीकार गरेपछि कांग्रेस र एमालेले उनलाई हटाउन हस्ताक्षर अभियान समेत थालेका थिए ।

उपसभामुखलाई हटाउने तयारीमा कांग्रेसभित्रै पूर्ण सहमति छैन । कांग्रेसको शेखर कोइराला नेतृत्वको समूह यस कदमप्रति असन्तुष्ट देखिएको छ । मंगलबार बुढानीलकण्ठमा सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा कोइराला अनुपस्थित रहे भने उनका निकटका सांसदहरूले पनि हस्ताक्षर अभियानमा भाग लिएनन् ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेबीच भएको छलफलपछि उपसभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने सहमति बनेको थियो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकतर्फका नेताहरू सहभागी थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १० : २३ बजे