काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा मंगलबार नयाँ कुमारीका रूपमा आर्यतारा शाक्यलाई प्रतिष्ठा दिइएको छ। सोही अवसरमा अघिल्लो कुमारी तृष्णा शाक्यलाई आठ वर्षपछि औपचारिक रूपमा विदाइ गरियो।
करिब तीन वर्षकी आर्यतारालाई उनका बुबा अनन्त शाक्यले काँधमा बोकेर मंगलबार मध्यान्हको शुभ साइतमा कुमारी घरमा प्रवेश गराएका थिए। उनलाई आसन ग्रहण गराइएपछि तलेजु भवानीको दर्शन गराइएको कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।
२०७९ पुस २६ मा जन्मेकी आर्यताराको आमाको नाम प्रतिष्ठा शाक्य हो। उनको १० महिनाकी बहिनी परमिता शाक्य पनि छिन्। छ महिनाअघि मात्रै प्ले ग्रुपमा भर्ना भएकी आर्यताराको औपचारिक शिक्षा अब कुमारी घरमै हुनेछ।
यसअघि २०७४ सालमा कुमारीका रूपमा स्थापित तृष्णा शाक्यलाई बाजागाजासहित खटमा राखेर विदाइ गरिएको थियो। आठ वर्षसम्म तृष्णाको स्याहार गर्ने चिताइदार परिवारका सदस्यहरू विदाइमा भावुक देखिएका थिए।
काठमाडौं उपत्यकामा शाक्य कूलकी कन्यालाई विशेष लक्षणअनुसार विधिपूर्वक कुमारी बनाउने परम्परा रहेको छ। सामान्यतया तीन वर्षभन्दा कम उमेरमै छनौट गरिएकी कुमारी करिब १२ वर्ष नहुँदासम्म कुमारीकै रूपमा रहने प्रचलन छ।









