२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

विदेशी जेलमा १,१७१ नेपाली



विदेशी जेलमा १,१७१ नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालै संघीय संसद् सचिवालयमार्फत सार्वजनिक गरेको लिखित जवाफमा यसबारे जानकारी दिइएको हो ।

सचिवालयले विघटित प्रतिनिधिसभाको पछिल्लो अधिवेशनमा सांसदका प्रश्न र सम्बन्धित मन्त्रालयका उत्तरहरू प्रकाशन गरेको छ । सो क्रममा सांसद सोबिता गौतमले राखेको प्रश्नको जवाफमा परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली नियोगहरूबाट प्राप्त विवरण अनुसार विभिन्न देशका जेलमा १,१७१ नेपाली रहेको बताएको हो । तीमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

तर मन्त्रालयले कुन देशमा कति जना छन् र कुन–कुन मुद्दामा कारागार सजाय भोगिरहेका छन् भन्ने विवरण भने सार्वजनिक गरेको छैन ।

साथै मन्त्रालयले विदेशी जेलमा रहेका नेपालीलाई नेपाल सरकारले कानुनी तथा कन्सुलर सहायता उपलब्ध गराउँदै आएको पनि जनाएको छ । कानुनी सहयोगका लागि विदेशस्थित नेपाली नियोगमार्फत विभिन्न पहल हुँदै आएको उल्लेख गरिएको छ ।

मन्त्रालयले दिएको विवरणअनुसार सरकारका तर्फबाट विदेशी जेलमा रहेका नेपालीहरुलाई समय–समयमा भेटेर कानुनी प्रक्रियाबारे अद्यावधिक जानकारी आदान–प्रदान गर्ने र परिवारसँग सम्पर्क गराउने, सम्बन्धित निकायसँग समन्वय गरी सजाय कम गर्न पहल गर्ने, राजदूतावासमार्फत स्थानीय भाषा तथा कानुनमा जानकार कर्मचारीद्वारा कानुनी सहायता उपलब्ध गराउने, वकालतनामा, नाता प्रमाणपत्र, वारिस प्रमाणपत्र, बीमा कार्यालय, अध्यागमन कार्यालय लगायतका आवश्यक कागजात संकलनमा सहजीकरण गर्ने गर्ने गरेको उल्लेख गरेको छ ।

त्यसैगरी आवश्यक परे अदालतमा मुद्दा दायर गर्ने वा बहस–पैरवी गर्न सहयोग गर्ने, सम्बन्धित देशको प्रचलनअनुसार आम माफीका लागि पहल गर्ने, सजाय भुक्तानपछि छिट्टै नेपाल फर्काउन कागजात (जस्तै यात्रा अनुमतिपत्र) उपलब्ध गराउने, त्यस्तो देशको कानुनअनुसार अनुमति प्राप्त वकिलमार्फत कानुनी प्रतिरक्षा दिलाउन समन्वय गर्नलगायतका कार्यहरु सरकारले गर्दै आएको पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  १० : ५० बजे