प्रधानमन्त्री सुशीला कार्कीले देशभर जारी विपद् र भीषण वर्षाको परिस्थितिमा नागरिकलाई जोखिमबाट जोगाउन राज्यका सबै स्रोत परिचालन गर्ने बताएकी छन्।
शनिबार साँझ देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै उनले अत्यावश्यक कार्य बाहेक सडकमा ननिस्किन र सवारी साधन नचलाउन आग्रह गरेकी छन्।
“यो चुनौतीपूर्ण समय हो,” उनले भनिन्, “प्रतिकूल प्राकृतिक अवस्थाका बाबजुद सबै सरकारी निकायहरू उद्धार र राहतका लागि उच्च मनोबलका साथ पूर्ण तयारी अवस्थामा छन्। हामीले सबै उपलब्ध स्रोतहरू परिचालन गरेका छौं।”
प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै अझै दुई दिनसम्म निरन्तर वर्षा हुने भएकाले नागरिकलाई सतर्क रहन र सुरक्षित ठाउँमा बस्न अनुरोध गरिन्।
उनका अनुसार राजमार्गहरू बन्द रहेका छन् र अवस्थाले अनुमति दिनासाथ सडक खुलाउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ।
“तपाईंहरू जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुस्। अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्। अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्,” प्रधानमन्त्रीले भनिन्।
विपद्को जोखिमका कारण सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको उनले सन्देशमा उल्लेख गरिन्।









