नेपाल राष्ट्र बैंकले व्यक्तिगत सेयर कर्जामा तोकिएको अधिकतम २५ करोड रुपैयाँको सीमा हटाएको छ। राष्ट्र बैंकले बुधबार जारी गरेको परिपत्रमार्फत सो सीमा हटाउने निर्णय गरेको हो।
यसअघि कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम सीमा २५ करोड रुपैयाँ निर्धारण गरिएको थियो। अब उक्त सीमा हटाइएसँगै लगानीकर्ताले बढी रकमसम्म सेयर धितो कर्जा लिन सक्ने भएका छन्।
सरकारले पुँजीबजार सुदृढीकरणका लागि गठन गरेको सुझाव समितिले सेयर कर्जा सीमा हटाउन सिफारिस गरेको थियो। अर्थ मन्त्रालयले बुधबार नै सो प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएपछि राष्ट्र बैंकले तत्कालय उक्त व्यवस्था कार्यान्वयन गरेको हो।
राष्ट्र बैंकले सेयर कारोबारसम्बन्धी अन्य व्यवस्थामा पनि लचिलो नीति अपनाएको छ। अब बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्मका लागि पनि सेयरमा लगानी गर्न सक्नेछन्। यसअघि सूचीकृत संगठित संस्थाको सेयर तथा डिबेन्चरमा कम्तीमा एक वर्ष अवधिको लागि मात्र लगानी गर्न पाइन्थ्यो।
त्यस्तै, एक वर्षभन्दा बढी अवधिका लगानीमध्ये एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म मात्र बिक्री गर्न पाइने व्यवस्था पनि खारेज गरिएको छ।
राष्ट्र बैंकका अनुसार, यी परिवर्तनहरूले सेयर बजारको गतिशीलता बढाउने र लगानी वातावरण सुधार गर्ने अपेक्षा गरिएको छ। विगतका कडाइपूर्ण नीतिहरूका कारण सेयर बजारमा तरलता र कारोबार घटेको निष्कर्षका आधारमा यी सुधारात्मक कदम उठाइएका हुन्।









