२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

रास्वपाको माग: विदेशमा रहेका नेपालीको मतदाता नाम दर्ता तत्काल सुरु गरियोस्



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावली दर्ता प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ ।

रास्वपा नेताहरुको एक टोलीले मंगलबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर विदेशमा रहेका नेपालीहरूलाई पनि आगामी निर्वाचनमा सहभागी हुने अवसर दिलाउन आग्रह गरेको हो ।

गृहमन्त्रीलाई बुझाइएको पत्रमा भनिएको छ, “ठूलो संख्यामा नेपाली नवयुवाहरू विदेशमा रहनुभएकाले, विदेशमा रहेका योग्यता पुगेका नेपालीहरूको हकमा राष्ट्रिय परिचयपत्रका आधारमा वा सम्बन्धित राजदूतावासमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्ने तत्काल व्यवस्था मिलाइदिनुहुन अनुरोध गर्दछौं।”

उक्त पत्रमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेका छन् । उनले पार्टीकै तर्फबाट यो औपचारिक माग गृहमन्त्री अर्यालसमक्ष पेश गरेका हुन् ।

रास्वपाले विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी र प्राविधिक तयारी छिटो अघि बढाउन सरकारसँग आग्रह गरेको छ । पार्टीका नेताहरूका अनुसार, “विदेशमा रहेका लाखौँ नेपाली नागरिक लोकतान्त्रिक अधिकारबाट वञ्चित हुनु अन्यायपूर्ण भएकाले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ।”

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  ९ : २६ बजे