३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’को अवधारणा सामुदायिक समाजवाद र बहुसांस्कृतिकतावादसम्म



ऊर्जा मन्त्री कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ले गत मंगलबार निर्वाचन आयोगमा पुगेर आफ्नो संगठन अद्यावधिक गरेको छ । यसअघि नै दर्ता भएको उक्त पार्टीले पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरी सूची आयोगमा बुझाएको हो ।

पार्टी गठनका क्रममा सुमना श्रेष्ठ, बालेन साह र सुदन गुरुङलगायतका व्यक्तिहरूसँग सहकार्यको प्रयास भए पनि त्यो सम्भव नभएपछि पार्टी उनीहरूबिनै अघि बढेको बताइएको छ ।

पार्टीका केन्द्रीय सदस्य जितराम लामाका अनुसार ‘उज्यालो नेपाल’ व्यक्ति होइन, विचार र अभियानमा आधारित दल हो । उनले भने, “हामी व्यक्ति केन्द्रित होइनौं, देशका हरेक नागरिकको अनुहारमा उज्यालो ल्याउने अभियानमा लागेका हौं । कुरीति, विकृति र भ्रष्टाचार जस्ता अन्धकार हटाउने हाम्रो उद्देश्य हो ।”

सिद्धान्त र अवधारणा : सामुदायिक समाजवाददेखि बहुसांस्कृतिकतावादसम्म

‘उज्यालो नेपाल’को प्रस्तावनामा सामुदायिक समाजवाद, सहभागितामूलक समावेशी लोकतन्त्र, बहुसांस्कृतिकतावाद र राष्ट्रिय एकतालाई पार्टीका आधारस्तम्भका रूपमा प्रस्तुत गरिएको छ। संयोजक अनुपकुमार उपाध्यायका अनुसार यी सबै अवधारणाको अन्तिम लक्ष्य ‘प्रजातान्त्रिक समाजवाद’ हो । उनले भने, “सबै शब्दले व्याख्या खोज्छन्, तर अन्ततः हामी जाने भने प्रजातान्त्रिक समाजवादतर्फ हो।”

उपाध्यायले सामाजिक सञ्जालमा अघिल्ला वर्षहरूमा राजसंस्थाप्रति दिएका अभिव्यक्तिहरूबारे स्पष्ट पार्दै भने, “त्यो मेरो पार्टी खोलेपूर्वको धारणा हो। अहिले पार्टीको अवधारणा फरक ढंगले विकसित हुँदैछ, त्यसैले त्यसलाई जोडेर नहेर्नुहोला।”

१५ बुँदे प्रतिबद्धता र नीति

पार्टीले संवैधानिक सर्वोच्चता, विधिको शासन र बहुलवादमा आधारित लोककल्याणकारी राज्य निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

यसका अन्य प्रमुख बुँदाहरू:

उदार अर्थतन्त्र र दिगो विकास,

सुशासन र पारदर्शिता,

नागरिक स्वतन्त्रता र मानव अधिकार,

अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँच,

वातावरणीय अधिकार र जलवायु न्याय,

योग्यतामा आधारित निष्पक्ष चयन प्रणाली,

संस्थागत सुधार र जवाफदेहिता,

डिजिटल प्रविधिद्वारा आर्थिक रूपान्तरण

‘उज्यालो नेपाल’ले आफूलाई आधुनिक, प्रविधिमैत्री र नयाँ पुस्तामुखी पार्टीका रूपमा प्रस्तुत गरेको छ। संयोजक उपाध्यायका अनुसार, “डिजिटल युगमा हाम्रो शासन पनि डिजिटलमैत्री र स्वतन्त्र हुनुपर्छ। प्रविधि प्रयोग गरेर देशको आर्थिक उन्नयन हाम्रो उद्देश्य हो।”

पार्टीले महिलादेखि दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, श्रमिक, किसान, युवा, ज्येष्ठ नागरिक र आर्थिक रूपमा विपन्न वर्गसम्मका हकहित सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ।

कृषि, पर्यटन, उद्योग, जलविद्युत, पूर्वाधार विकास, उद्यमशीलता र दक्ष मानवस्रोत विकासलाई पार्टीले प्राथमिकतामा राखेको छ। साथै, कृत्रिम बौद्धिकता (AI), विज्ञान प्रविधि र डिजिटलाइजेशनलाई राष्ट्रको रूपान्तरणको माध्यम बनाउने योजना पनि प्रस्तावनामा समावेश छ।

‘उज्यालो नेपाल’ले “एक व्यक्ति, एक पद” सिद्धान्तलाई कडाइका साथ लागू गर्ने जनाएको छ। केन्द्रीय सदस्य जितराम लामाका अनुसार, “कुलमानजी अहिले सरकारमा हुनुहुन्छ, त्यसैले पार्टी नेतृत्वमा बस्न मिल्दैन भन्ने नै हाम्रो नीति हो। राज्यको स्रोत पार्टी निर्माणमा प्रयोग नहोस् भन्नेमा हामी दृढ छौं।”

प्रकाशित मिति : २८ कार्तिक २०८२, बिहिबार  ८ : ४९ बजे