३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

नलिन्चोक हेलिप्याड अनियमितता प्रकरण : महानिर्देशक अधिकारी पक्राउ



नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक भण्डारीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १३ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा भइरहेको अनियमितताबारे परेको उजुरीका आधारमा अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो । आयोगले बिना वातावरणीय प्रभाव मूल्यांकन आयोजना निर्माण गरिएको, निर्माण प्रक्रियामा अनियमितता भएको र प्राविधिक मापदण्ड विपरीत कार्य भएको जस्ता कसुर प्रमाणित भएको अभियोगपत्रमा उल्लेख गरेको छ।

यही प्रकरणमा महानिर्देशक प्रदीप अधिकारीलाई पनि बुधबार अख्तियारले पक्राउ गरेको छ । नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी सम्झौतादेखि निर्माण कार्यसम्मकै अनियमिततामा उनको संलग्नता रहेको प्रारम्भिक निष्कर्षका आधारमा पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्राधिकरणले भक्तपुरको नलिन्चोकमा रहेको आफ्नै ३२ रोपनी जग्गामा बनाइएको हेलिप्याडको औचित्यमाथि पनि निरन्तर प्रश्न उठ्दै आएको छ। वातावरणीय प्रभाव मूल्यांकन नगरी आयोजना अघि बढाएको, निर्माण खर्च र प्रक्रिया अस्पष्ट रहेको लगायत आरोपसहित उजुरी परेको थियो।

उक्त हेलिप्याडको उद्घाटन ७ असार २०८१ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ र महानिर्देशक अधिकारीले संयुक्त रूपमा गरेका थिए। अनियमितता उजागर भएपछि अब मुद्दाको सुनुवाइसहित कानुनी प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बुधबार  १० : ४५ बजे