भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नेपाली र भुटानी नागरिकलाई १ सयभन्दा माथिका भारतीय नोट पनि नेपाल ल्याउन र भारतबाट लैजान पाउने व्यवस्था खुला गरेको छ । आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोटसम्बन्धी नयाँ प्रावधान लागू गरेको हो ।
नयाँ व्यवस्थाअनुसार १ सय रुपैयाँसम्मका भारतीय नोट जतिसुकै मात्रामा नेपाल–भारत बीच लैजान र ल्याउन पाइनेछ । यसमा कुनै पनि सीमा तोकिएको छैन । तर, १ सयभन्दा माथिका २००, ५०० र २००० रुपैयाँसम्मका नोट भारतबाट नेपाल तथा नेपालबाट भारत २५ हजार भारतीय रुपैयाँसम्म मात्रै बोकेर ल्याउन वा लैजान सकिने उल्लेख छ । यस्तो रकम यात्रुले आफैंले बोकेर मात्र ल्याउन वा लैजान पाउनेछन्; अन्य माध्यमबाट पठाउन भने पाइने छैन ।
यसअघि भारतले ठूला दरका नोट नेपाल ल्याउन पाउने अनुमति दिए पनि नेपालबाट भारत लैजान नपाइने प्रावधान थियो । भारतले सन् २०१६ मा ठूलो दरका ५०० र १००० रुपैयाँका नोट नोटबन्दी गरेपछि नेपालको तर्फबाट पनि ठूला नोटको चलनचल्ती रोकिएको थियो । नेपालमा रहेका नोट सटही नदिँदा दुवै देशबीच वित्तीय असुविधा झनै बढेको थियो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार भारतले लगाएको रोक खुलाए पनि नेपालमा ठूला दरका भारतीय नोट चलनचल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकले अलगै नीतिगत निर्णय गर्नुपर्ने छ । “भारतले प्रतिबन्ध हटाएको मात्रै भन्दैमा ठूला नोट नेपालमा स्वतः चल्छन् भन्ने हुँदैन,” पौडेलले बताए, “त्यसका लागि नेपालले पनि आवश्यक निर्देशन जारी गर्नुपर्छ ।”
नेपालले ठूला दरका नोट चलनमा रोक्दा पर्यटक र व्यवसायीले ठूलो समस्या भोगिरहेका छन् । अब भारतले नेपाल र भुटानका लागि विशेष व्यवस्था गरेकोले नेपालले पनि प्रतिबन्ध खुलाउनेतर्फ सकारात्मक कदम चाल्नुपर्ने पौडेलको सुझाव छ।
२०१६ मा भारतले नोटबन्दी गर्दा नेपालमा करिब ५ करोड भारतीय रुपैयाँ बैंकिङ प्रणालीमा अड्किएको थियो, जसको सटही अझै नपाइएको उनले बताए । नेपालको आपत्ति भनेको भारतबाट ल्याउन पाइने तर नेपालबाट लैजान नपाइने स्थिति नेपाली मुद्रालाई कमजोर बनाउने खतरा हो । तर अहिले दुवै तर्फ ल्याउन–लैजान पाइने व्यवस्था बनेकाले नेपालले अनुमति दिनुपर्ने पौडेलको भनाइ छ ।








