६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की: ‘प्रकाश पाठक’ नामक व्यक्तिको खोजीमा प्रहरी सक्रिय



‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहका अध्यक्ष दाबी गर्ने प्रकाश पाठकले १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की पठाएपछि नेपाल प्रहरीले व्यापक खोजी तथा अनुसन्धान अघि बढाएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाणसहितका व्यक्तिहरूलाई इमेलमार्फत प्राप्त धम्कीपत्रपछि सुरक्षा निकाय सतर्क बनेको हो ।

धम्की पठाइएका इमेलमा प्रकाश पाठकको नाम स्पष्ट रूपमा उल्लेख छ । अख्तियार प्रमुख राईलाई पठाइएको पत्रमा “हाम्रो केन्द्रीय कमिटीले तपाईं सहित १० जना भ्रष्ट प्रशासक र अस्थिर सरकारका कारण सत्तामा आएकाहरूको हत्या गर्ने निर्णय गरेकोमा दुःखी छौं । १० दिनभित्र राजीनामा दिनुपर्छ, नभए मारिनुपर्नेछ” जस्ता अभिव्यक्ति समेटिएको छ ।

पत्रमा पाठकले भदौ २४ गते कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई प्रयोग गरेर आक्रमण गरिने चेतावनीसमेत दिएका छन् । पत्र केही दिनअघि नै सम्बन्धित व्यक्तिहरूलाई पठाइएको थियो । घटना सार्वजनिक भएपछि नेपाल प्रहरीका विभिन्न युनिटले यसको स्रोत, सम्भावित जोखिम र पाठकको अवस्थाबारे अनुसन्धान अघि बढाएका छन् ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, धम्की इमेल पठाउने व्यक्तिको लोकेशन नेपालभित्र नभएको प्रारम्भिक संकेत मिलेपछि अन्तरदेशीय सूचना संकलन पनि भइरहेको छ । “विभिन्न युनिट अनुसन्धानमा छन् । इमेल पठाउने व्यक्ति नेपालमा भएको देखिंदैन,” ती अधिकारीले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अन्य इन्टेलिजेन्स निकायहरूले प्रकाश पाठक नामक व्यक्तिको पृष्ठभूमि, समूहको आकार र गतिविधिबारे छुट्टै ट्र्याकिङ थालेका छन् ।

यसैबीच पाठकले आफ्नो फेसबुक अकाउन्टमार्फत भिडियो सार्वजनिक गर्दै आफू ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ का अध्यक्ष भएको दाबी गरेका छन् । भिडियोमा उनले अख्तियार प्रमुख राईसहित १० जनाको हत्या गर्ने योजना बनाएको खुलेआम बताएका छन् । साथै प्रहरीले आफूलाई पछ्याइरहेको थाहा पाएको र आफ्ना “केटाहरू” पक्राउ परिरहेको दाबी पनि गरेका छन् ।

भिडियोमा पाठकले भनेका छन्, “प्रेम राईले प्रहरी प्रशासन दुरुपयोग गरेर धरपकड गरिरहेको छ । मैले सूची सार्वजनिक गरेको केही घण्टामै पाँच–सात जना पक्राउ भएको सुनेको छु । राजीनामा दिने सट्टा उल्टै दमन गरिरहेको छ । मेरो विचारमा उनको आयु लामो छैन, १० दिनअघि नै सक्काइदिन्छौं ।”

आफू भारतका विभिन्न स्थानमा लुकेर बसेको दाबी गर्दै उनले प्रहरी त्यहाँ–त्यहाँ पुगेको समेत बताएका छन् । “म एक घण्टामा चार ठाउँ परिवर्तन गरिरहेको छु । प्रहरीले समात्न खोजिरहेको छ, तर सक्दैन । प्रेम राईले आफ्नो ज्यानको सुरक्षा गर,” उनले धम्कीपूर्ण भाषामा भनेका छन् ।

नेपाल प्रहरी अहिले पत्रका स्रोत, भिडिओको प्रामाणिकता, संभावित जोखिम र पाठकको वास्तविक पहिचानबारे बहुपक्षीय अनुसन्धान गरिरहेको छ । सुरक्षा एजेन्सीहरूले यी धम्कीलाई ‘उच्च जोखिम’ का रूपमा लिएर निगरानी कडाइ गरेको बताइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, बिहिबार  १० : ४४ बजे