प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन जसरी पनि शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छन्। शुक्रबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगदेखि सुरक्षा निकायसम्म सबै तहका संस्थाहरू निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको जानकारी दिइन्।
प्रधानमन्त्रीले ‘चुनाव हुन्छ कि हुँदैन भन्ने शंका अब नगर्न’ आग्रह गर्दै भनिन्, “कसरी सफल पार्ने भन्नेमा सबै एकचित्त भएर लाग्नुपर्छ। १२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने साझा धारणा लिन सके कसैले पनि निर्वाचनमा बाधा पुर्याउन सक्दैन, कुनै खराब तत्वले आक्रमण गर्न सक्दैन।”
उनका अनुसार सुरक्षाको पहिलो तह स्वयं जनता हुन्, त्यसपछि मात्र प्रहरीले, सशस्त्र प्रहरी, भूतपूर्व सुरक्षाकर्मीलगायत संयन्त्रले भूमिका निभाउँछन्। नागरिकको विश्वास र सहयोग बिना स्वस्थ वातावरण निर्माण हुन नसक्ने उनको तर्क थियो।
सर्वदलीय बैठकमा सहभागी दलहरू पनि निर्वाचनका लागि तैयार देखिएको बताउँदै प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेका घटनाको स्मरण गरिन्। उनले दलहरूलाई “एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन” आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीका अनुसार सरकार जेनजीदेखि निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज र राजनीतिक दलहरूसँग निरन्तर संवादमै छ। विभिन्न आशंकाहरू हटाउँदै ल्याइएको सहमतिपछि अब निर्वाचन रोक्ने कुनै कारण नरहेको उनको दाबी छ।








