६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

चार दिनमा छोरी र बाबुको आत्महत्या: राज्यको विभेदको शिकार



बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँमा एकै परिवारका बाबु–छोरीले चार दिनको अन्तरमा आत्महत्या गरेपछि नागरिकता, जन्मदर्ता र न्याय पहुँचसम्बन्धी राज्य संयन्त्रका गम्भीर कमजोरी फेरि उजागर भएका छन्।

२२ कात्तिकमा २२ वर्षीया अञ्जु थारु आफ्नै घरमा मृत फेला परेकी थिइन्। चार दिनपछि, ६१ वर्षीय उनका बाबु कान्छा थारुले समेत ज्यान त्यागे। परिवारका दुई जीवन एकपछि अर्को ढलेपछि स्थानीय मात्र होइन, अधिकारकर्मी र प्रशासन पनि स्तब्ध छन्, के उनीहरूलाई निराशामा धकेल्ने कारण व्यक्तिगत थियो, कि राज्यको उदासीनताले उनीहरूलाई अन्तिम बाटोसम्म पुर्‍यायो?

अञ्जुको पीडा वर्षौंअघिदेखि सुरु भएको थियो। १५ वर्षकै उमेरमा गर्भवती भएपछि परिवार र समाजको दवाबमा छिमेकी गाउँका अनिल थारुसँग उनको सम्बन्ध बाधिएको थियो। मन्दिरमा सिन्दुर हालेर घर भित्र्याए पनि वैवाहिक जीवन टिकेन। २०७५ मंसिरमा छोरी जन्मिएपछि सम्बन्ध झन् बिग्रँदै गयो र २०७६ पुसमा अञ्जुले माइती फर्कनुपर्‍यो। सम्बध विच्छेदसँगै अंश माग्न उनले जिल्ला अदालत बर्दिया धाइन्। अदालतले सम्बन्ध कानुनी रूपमा दर्ता नभए पनि बच्चा जन्मको आधारमा अंश पाउने अधिकार अञ्जु र छोरी दुवैलाई मान्यता दियो।

तर यतिमै समस्या टुंगिएन। अंश पाउनका लागि नागरिकता र छोरीको जन्मदर्ता अनिवार्य भएपछि अञ्जुको संघर्ष अर्को चरणमा प्रवेश गर्‍यो। उनले बाबुसहित वडा कार्यालयमा ८–१० पटक धाइन्, तर प्रक्रिया अघि बढेन। विवाह दर्ता नभएको र अदालतको आदेश पर्याप्त स्पष्ट नभएको भन्दै वडाले नागरिकता नबनाइदिएको अञ्जुको परिवारको आरोप छ। तर कानुन भने उनीहरूकै पक्षमा थियो। मुलुकी देवानी संहिता २०७४ ले बच्चा जन्मिएको अवस्थामा सम्बन्धलाई वैवाहिक मान्यता दिनुपर्ने व्यवस्था गरेको छ। बालबालिकासम्बन्धी ऐन २०७५ ले बाबुको नाम नखुले पनि आमाको नाममा जन्मदर्ता गर्न सकिने अधिकार स्पष्ट उल्लेख गर्छ। यी कानुनी व्यवस्थाबीच पनि स्थानीय निकायले सहयोग नगरेपछि अञ्जुको निराशा झन् गहिरिँदै गयो।

अधिकारकर्मीहरूका अनुसार अञ्जुको मृत्यु व्यक्तिगत कमजोरी नभई राज्य संयन्त्रको उदासीनताको परिणाम हो। नागरिक समाज सञ्जाल बर्दियाकी संयोजक हिमा सुनारका अनुसार जन्मदर्ता र नागरिकताको अधिकार नपाउँदा अञ्जु जस्तालाई जीवनभर अपमान र अन्याय सहनुपरेको छ, जसले अन्ततः उनीहरूलाई आत्महत्यातिर धकेल्यो। मानवअधिकारकर्मी तथा अधिवक्ता मोहना अन्सारीले वडा कार्यालयदेखि प्रशासनसम्म सबै तहमा गम्भीर लापरबाही देखिएको बताइन्।

अञ्जुको मृत्यु भएपछि उनका श्रीमान् अनिल थारु फरार भएका छन्। पीडित परिवारले उनीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्सपेक्टर प्रकाशसिंह कार्कीका अनुसार अनिलविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ र खोजी कार्य जारी छ।

अञ्जु र उनका बाबुको मृत्युले बर्दियामात्र होइन, समग्र देशलाई प्रश्न गरेको छ, कागजी प्रक्रिया र प्रशासनिक अलमलका कारण एक व्यक्तिले आफ्नो अस्तित्व प्रमाणित गर्न वर्षौं संघर्ष गर्नुपर्छ भने त्यसअघि नै उनीहरू निराशाको चरम स्थितिमा पुग्ने जोखिम कति गम्भीर छ? नागरिकता, जन्मदर्ता र न्यायसम्बन्धी पहुँचलाई सरल, संवेदनशील र द्रुत बनाउन राज्यका अंगहरु कति तयार छ? यो घटना उत्तर मात्र होइन, सुधारको तत्काल माग पनि गर्दैछ।

प्रकाशित मिति : २० मंसिर २०८२, शुक्रबार  ११ : ०३ बजे