नेटफ्लिक्सले वार्नर ब्रदर्स डिस्कभरीको फिल्म स्टुडियो र एचबीओ ८२.७ अर्ब डलरमा खरिद गर्न सहमत भएको शुक्रबार घोषणा गरेको छ । जसमा स्ट्रिमिङ सेवा पनि समावेश रहेको छ ।
वार्नर ब्रदर्स डिस्कभरीले जुनमा सन् २०२६ को मध्यमा दुई कम्पनीमा विभाजन हुने घोषणा गरेपछि सुरु भएको बोलकबोलमा नेटफ्लिक्सले मिडिया कम्पनीहरू प्यारामाउन्ट र कमकास्टलाई पछि पार्दै बाजी मारेको हो । वार्नर ब्रदर्स डिस्कभरी सीएनएनको मूल कम्पनी हो । नेटफ्लिक्सले यो खरिद १२ देखि १८ महिनाभित्र सम्पन्न हुने अपेक्षा गरेको छ । वार्नर ब्रदर्स पिक्चर्स हलिउडका पाँच ठूला स्टुडियोमध्ये एक हो, जसमा प्यारामाउन्ट पिक्चर्स, सोनी पिक्चर्स, युनिभर्सल पिक्चर्स र वाल्ट डिज्नी स्टुडियो पर्छन् ।
वार्नर ब्रदर्स पिक्चर्सको स्थापना सन् १९२३ मा ह्यारी, अल्बर्ट, सामुएल र ज्याक वार्नर भाइहरूले गरेका थिए । हाल यो कम्पनी क्यालिफोर्नियाको बर्ब्याङ्कमा ११० एकड जमिनमा सञ्चालित छ ।
१९२० को दशक: स्टुडियोको पहिलो आधिकारिक प्रदर्शन सन् १९२३ मा बनेको मौन ड्रामा “मेन स्ट्रिट” थियो । भाइहरूले अन्ततः भिटाफोन प्रयोग गरेर ध्वनिमा लगानी गरे, जसको सुरुवात सन् १९२६ को “डन जुआन” बाट समक्रमित स्कोरसहित भयो । त्यसपछि सन् १९२७ मा समक्रमित संवाद भएको पहिलो फिल्म “द ज्याज सिङ्गर” बन्यो। सन् १९२९ को सङ्गीतमय “अन विथ द शो!” वार्नर ब्रदर्सद्वारा रिलिज गरिएको पहिलो पूर्ण-संवाद भएको र दोस्रो रङ्गीन फिचर फिल्म थियो।








