६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजक सहिद घोषणा



काठमाडौं — काठमाडौँको तीनकुनेमा भएको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको जानकारी जगदीश खरेल, सूचना तथा सञ्चारमन्त्रीले दिएका हुन्।

गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा तीनकुनेस्थित एक भवनमा आगलागी हुँदा पत्रकार रजकको शव फेला परेको थियो। सो घटनापछि सरकारद्वारा उक्त घटनाको छानबिन तथा पीडित परिवारलाई राहत दिने प्रक्रिया अघि बढाइएको थियो।

मन्त्रिपरिषद्को अन्य महत्वपूर्ण निर्णय

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। मन्त्री जगदीश खरेलका अनुसार सार्वजनिक गरिएका सात प्रमुख निर्णय यस्ता छन्:

  • सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकेको छ। साथै, उखु अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गरिएको छ।
  • चैत १५ गते काठमाडौँको तीनकुने प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरिएको छ।
  • २०८२ भदौ २३–२४ गते भएको जेनजी प्रदर्शनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने कार्यविधि स्वीकृत गरिएको छ।
  • इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व/पश्चिम), पर्वत, मोरङ र सुनसरीका ९४ हजार ५२७ गरिब परिवारको सूची स्वीकृत गरिएको छ।
  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ।
  • नेपाल प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा राजेन्द्रकुमार पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ।
  • जेनजी आन्दोलनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको छ।

सरकारका यी निर्णयहरूले सामाजिक सुरक्षा, कृषकको हित र पीडितलाई राहत दिने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, सोमबार  ९ : ०९ बजे