६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण



जेनजी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरूङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका सहयोगी कुमार बेनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालयमा भएको भेटमा गुरूङले जेनजी आन्दोलनलाई संस्थागत गरी दीर्घकालीन संरचनामा रूपान्तरण गर्नुपर्ने आग्रह प्राथमिकताका साथ अघि सारेका थिए ।

गुरूङका अनुसार भेटमा हाल जेनजी कार्यकर्तामाथि भएको धरपकड, झूटा मुद्दा र गिरफ्तारीका विषयमा गम्भीर छलफल भयो । उनले आन्दोलनमा सहभागी भएर झूटा मुद्दामा फसिएका युवालाई छुट्टै प्रक्रिया मार्फत् हेर्ने र झूटा मुद्दा लगाउनेहरूमाथि छानबिन गर्न छुट्टै इकाइ बनाइने विषयमा सहमति भएको बताए। साथै, जघन्य अपराध सरह नपर्ने मुद्दाहरूलाई विशेष रूपमा पुनरावलोकन गर्नुपर्ने उनले प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरे ।

गुरूङले जेनजी आन्दोलनको ‘म्यान्डेट’ मा राष्ट्रपतिबाट हस्ताक्षर हुनैपर्ने माग पनि राखे । उनका अनुसार, “हामीले जितेको आन्दोलन हो। यसलाई संस्थागत अन्तरिम सरकारले गर्ने होइन। राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्छ। नभए आन्दोलन नै कार्यान्वयन नहुने र समयसँगै इतिहासमा हराउने जोखिम छ।”

प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक रामबहादुर रावलले पनि गुरूङले राष्ट्रपतिको उपस्थितिमा जेनजीसँग गर्ने सहमतिमा हस्ताक्षरको माग गरेको पुष्टि गरे। उनका अनुसार, प्रधानमन्त्रीले “राष्ट्रपतिको आशय के छ, बुझ्छु” भनेर प्रतिक्रिया दिएको बताए ।

रावलका अनुसार जेनजी समूह र सरकारबीच हुने सहमति लगभग टुंगो लाग्ने चरणमा पुगेको छ भने त्यसलाई संस्थागत र स्वीकार्य बनाउन विज्ञसँग परामर्श लिँदै अघि बढिरहेको उल्लेख गरे। उनले भविष्यमा सबै सरोकारवालाले स्वीकार्ने गरी सहमति तयार पार्ने प्रयास भइरहेको बताए ।

भेटमा गुरूङले भदौ २३ र २४ को आन्दोलनका क्रममा सहभागी भएका युवामाथि भएको धरपकडबारे गुनासो गरेका थिए। धरौटी रकम अभावमा धेरै युवाले पुर्पक्षका लागि जेल जानुपरेको रावलले बताए। साथै, आन्दोलनमा गोली चलाउने दोषीलाई पक्राउ गर्नुपर्ने माग पनि गुरूङले प्रधानमन्त्रीसमक्ष राखेको रावलले जानकारी दिए।

भेटमा सहभागी कुमार बेन भने विशेष रूपमा नबोलेको रावलकाे भनाइ छ। दुवै पक्षबीचको संवाद ‘आमा–छोरा’ जस्तै आत्मीय भाषामा भएको दाबी रावलले गरे। उनका अनुसार, गुरूङले प्रधानमन्त्रीलाई दुई महिना भेट्न नआएको र जेनजीको नाममा विभिन्न समूहले उनलाई असहज पारेको सुनेर दुःख लागेको बताएका थिए। त्यसका प्रत्युत्तरमा प्रधानमन्त्री कार्कीले सचिवालयको सीमित संरचना र व्यस्तताका कारण भेटघाट कठिन हुने तर सबै आन्दोलनकारीलाई आफ्ना ‘छोराछोरी’का रूपमा हेर्ने बताएकी थिइन्।

गुरूङले आफू आन्दोलनको नेतृत्वकर्ता भएकाले सहिद परिवार, घाइते तथा अन्य आन्दोलनकारी युवाहरूको दबाब आफ्नो जिम्मेवारीका रूपमा महसुस भइरहेको सुनाए। उनका अनुसार, केही दिनभित्रै जेनजी र सरकारबीच थप छलफल गरेर अन्तिम सहमति टुंग्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, मंगलबार  १० : ५१ बजे