६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलको कारको ठक्करबाट नेपाली युवाको मृत्यु



चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवाको ज्यान गएको घटनामा दोष स्वीकृति जनाएका छन्। लन्डन महानगरीय प्रहरीले ‘गेट्स’ नामले परिचित स्यामुयलले दुर्घटनामा आफ्नो संलग्नता औपचारिक रूपमा स्वीकार गरिसकेको जानकारी सार्वजनिक गरेको हो।

महानगरीय प्रहरीले आफ्नो वेबसाइटमार्फत् स्यामुयल ३० माइल प्रतिघण्टा सीमा तोकिएको सडकमा ६० माइलभन्दा बढी गतिमा गाडी चलाइरहेको बेला २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङलाई ठक्कर दिएको पुष्टि गरेको छ। इल्फोर्डको रेडब्रिज क्षेत्रमा गत अक्टोबर १८ राति ११ः३० बजे सडक पार गर्दै गरेका तामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलबाट तत्कालै फरार भएका थिए।

गम्भीर रूपमा घाइते तामाङको उपचारका क्रममा दुई दिनपछि मृत्यु भएको थियो। तामाङ गत वर्ष सेप्टेम्बरमा मात्र बेलायत पुगेका थिए र युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बिएस्सी बिजनेस म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत थिए।

दुर्घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी निरीक्षक मार्क ब्रथवेटले युविन तामाङको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै अपराध स्वीकार गर्नु न्यायका लागि महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार, “यो क्षतिको कुनै पनि भरपाई हुन सक्दैन, तर दोष स्वीकृतिले पीडित परिवारलाई केही राहत मिल्ने छ भन्ने हाम्रो विश्वास छ।”

यसैबीच, बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले पनि स्यामुयलले दोष स्वीकार गर्नु पीडित परिवारका लागि सकारात्मक पक्ष भएको बताए। दूतावासले घटना पछि नै न्यायिक प्रक्रियालाई अघि बढाउन सक्रिय भूमिका खेलेको उनले उल्लेख गरे।

दुर्घटनापछि फरार स्यामुयलको वुडफोर्डस्थित घरमा खोजतलास गर्दा भोलिपल्ट बिहानै उनको नाममा दर्ता तथा बिमा गरिएको कार क्षतिग्रस्त अवस्थामा फेला परेको थियो।

अदालतले स्यामुयलको मुद्दामा आगामी माघ २९ गते (फेब्रुअरी १२) सजाय सुनाउने जनाएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, मंगलबार  १० : ५३ बजे