अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने विश्वकै पहिलो कानुन लागू भएपछि लाखौँ बालक–किशोरका फेसबुक, इन्स्टाग्राम, टिकटकदेखि युट्युबसम्मका खाताहरू एकैपटक बन्द भएका छन् । सोमबारदेखि लागू भएको यो कानुनले इंस्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, टिकटक, किक, ट्विच, रेडिट र युट्युबजस्ता प्लेटफर्मलाई कडा रूपमा कार्यान्वयन गर्न बाध्य बनाएको छ ।
कानुनले अभिभावक वा बालबालिकालाई भने कुनै सजाय दिँदैन, तर प्लेटफर्महरूले नियम उल्लंघन गरेमा अधिकतम ४९.५ मिलियन अष्ट्रेलियन डलर (झन्डै ३२ मिलियन डलर अमेरिकी) जरिवाना भोग्नुपर्नेछ । सरकारका अनुसार, यो कदम युवा पुस्तालाई हानिकारक सामग्री, अनलाइन दुर्व्यवहार र जोखिमपूर्ण चुनौतीहरूबाट जोगाउन ल्याइएको हो । आलोचकहरूले भने यसले कमजोर तथा संवेदनशील किशोरलाई अझै एक्ल्याउन सक्छ र उनीहरूलाई अनियमित इन्टरनेट कुनातिर धकेल्न सक्छ भन्ने चेतावनी दिएका छन् ।
विश्वभरका सरकारहरूले अष्ट्रेलियाको कदमलाई ध्यानपूर्वक हेरिरहेका बेला, सफलता कसरी नाप्ने भन्ने विषयमा भने अझै स्पष्टता छैन । अष्ट्रेलियाका किशोर–किशोरी स्वयं पनि यो प्रतिबन्धबारे विभाजित देखिन्छन्, कतिपय ‘अपमानित’ अनुभूति गरिरहेका छन् भने कतिले ‘छिट्टै बिर्सिने’ प्रतिक्रिया दिएका छन् ।
यसबीच, अष्ट्रेलियाको निर्णयले ब्रिटेनमा बस्ने एक आमाको पीडालाई फेरि चर्चामा ल्याएको छ । ग्लोसस्टरसायरकी एलेन रुमका १४ वर्षे छोरा जुल्स स्वीनी सन् २०२२ मा एक अनलाइन च्यालेन्जको जोखिमपूर्ण प्रयासका कारण मृत फेला परेका थिए । उनले छोराको सामाजिक सञ्जाल खाता जाँच्न नपाएका कारण सत्य पत्ता लगाउन नपाएको बताउँछिन् । अष्ट्रेलियाली कदमलाई “साहसी र अग्रगामी” भन्दै उनले बेलायतले भने बालबालिकाको सुरक्षा पर्याप्त रूपमा नगरेको आरोप लगाइन् ।
अन्य देशमा पनि यस्तै प्रतिबन्ध वा कडा नियम ल्याउने प्रयास भइरहेका छन् । फ्रान्समा १५ वर्षमुनिका लागि अभिभावकको सहमतिसँग मात्र खाता खोल्ने नियम बनेपनि कार्यान्वयन थालिएको छैन । चीनमा इन्टरनेट कडाइका बीच समय सीमा मात्र लागू छ । डेनमार्कले १५ वर्षमुनिका लागि प्रतिबन्धको योजना सार्वजनिक गरेको छ भने जर्मनीमा १६ वर्षमुनिका सामाजिक सञ्जाल प्रयोग अभिभावक सहमतिमा मात्र मान्य छ । स्पेनले पनि न्यूनतम उमेर १६ वर्ष पुर्याउने कानून अनुमोदन प्रक्रियामा छ । मलेसियाले १६ वर्षमुनिका लागि पूर्ण प्रतिबन्धको तयारी गरिरहेको जनाएको छ ।
सामाजिक सञ्जाल प्रयोगमा नाबालकलाई रोक्न गरिएको अष्ट्रेलियाको कदमले विश्वभर बहस चलिरहेको छ—के यसले बालबालिकालाई सुरक्षित बनाउँछ, वा उनीहरूलाई अझै अनियमित इन्टरनेटतिर धकेल्छ? यसका परिणाम अब केही दिनमै देखिन थाल्नेछन्।








