भिजिट भिसाको नाममा चल्दै आएको मानव तस्करी र घुस–करोबारीमा संलग्न रहेको अभियोगमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालतमा अभियोगपत्र दर्ता गर्दै तीर्थराज भट्टराई, अर्याल, अन्य चार व्यक्ति र दुई ट्राभल एजेन्सीलाई प्रतिवादी बनाएको हो।
सहसचिव भट्टराई ७ जेठ २०८२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए। उनी सो समयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसमेत थिए। भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आशंकामा अख्तियारले लामो समयदेखि छानबिन गर्दै आएको थियो।
आयोगले भट्टराईविरुद्ध करिब ७९ लाख ८० हजार रुपैयाँ घुसबापतको बिगो माग दाबी गरेको छ। साथै, घुसबाट आर्जित रकम घरजग्गामा लगानी गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) गरेको ठहर गर्दै एक करोड तीन लाख ७९ हजार रुपैयाँ अतिरिक्त माग दाबी गरिएको छ। शाखा अधिकृत यज्ञ अर्यालविरुद्ध करिब ५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
अख्तियारका अनुसार मुद्दामा सूचीकृत अन्य चार जना बिचौलिया, ट्राभल एजेन्सी सञ्चालक तथा नेटवर्कमा चक्रिय भूमिकामा रहेका व्यक्तिहरू हुन्।
यसअघि, भिजिट भिसाको आवरणमा हुने तस्करीबारे प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिलको कार्यालयले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनामाथि संगठित अपराध र किर्ते मुद्दा दायर गरेको थियो। तर, एक वर्षपछि १४ मंसिर २०८१ मा जिल्ला अदालतले बिचौलिया र ट्राभल व्यवसायीलाई मात्रै दोषी ठहर गरेको थियो।
भिजिट भिषा प्रकरणमा अख्तियारले भेटाएका पाँच प्रमुख तथ्य
प्रणाली बाहिर कागजात लुकाएर घुस असुल्ने अभ्यासः
भट्टराईको कार्यकालमा यात्रु प्रस्थानका लागि आवश्यक कागजात– पासपोर्टको बायोपेज र स्व-घोषणाबाहेक– अध्यागमन प्रणालीमा अपलोड नगरी यात्रुलाई हैरान पारेर घुस असुल्ने गरेको प्रमाण भेटिएको छ।
मोबाइलदेखि अन्य वस्तु घुसको रूपमा
भट्टराईले ट्राभल व्यवसायी बालकृष्ण खड्का, दीपक भण्डारी, राम खड्कासँग मिलेर नियमित सेटिङ मिलाउने, मोबाइल तथा अन्य सामग्री घुसका रूपमा लिने र रेस्टुरेन्टमै ‘पार्सल’को नाममा रकम बुझ्ने गरेको आयोगको दाबी छ। यात्रुको नामावली डायरीमा टिपोट गरेर सोही अनुसार रकम हिसाबकिताब राख्ने गरिन्थ्यो।
महिला यात्रुबाट दोब्बर घुस
भट्टराईले कोड भाषामा हिसाब राख्ने गर्थे—
• पुरुषका लागि ‘०.२’ (२०,००० रुपैयाँ)
• महिलाका लागि ‘०.४’ (४०,००० रुपैयाँ)
अध्यागमन छाप लगाउने कामलाई ‘पुक्का’ र आफ्ना समूहलाई ‘लाइन वाला’ भन्ने गरेको पाइएको छ। घुसबाट प्राप्त केही रकम सहकर्मी यज्ञ अर्याललाई पनि बाँडिएको अनुसन्धानले देखाउँछ।
घुसको रकम घरजग्गामा लगानी
भट्टराईले कविता पौडेलमार्फत जग्गा कारोबारी खेमप्रसाद सुवेदीलाई प्रयोग गरी अवैध आर्जनबाट सम्पत्ति खरिद गरेको भेटिएको छ। यात्रु–नामावली आदानप्रदानका लागि कविताको नाममा दर्ता मोबाइल सिम समेत प्रयोग गरिएको छ। यस आधारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा समेत दायर गरिएको छ।
विदेशमा ठगिएका पीडितहरूको उजुरी
घुस दिएर विदेश पुगेका २५७ मध्ये धेरैजना त्यहाँ पुगेर पीडित बने—मानव तस्करी जस्तै व्यवहार, यातना र ठगीमा परेका उनीहरूले रकम फिर्ता नपाएको भन्दै अख्तियारमा उजुरी दिएका थिए। यस उजुरीपछि भट्टराई–समूहमाथि कडा कारबाही अघि बढाइएको हो।
अख्तियारले दायर गरेको यो मुद्दाले भिजिट भिसाको नाममा दशकयताबाट चल्दै आएको तस्करी नेटवर्क, अध्यागमनभित्रको घुस–करोबारी र मानव बेचबिखनको जरा–न्यारा उजागर गरेको छ। विशेष अदालतमा सुनुवाइसँगै यस काण्डको निर्णायक मोड आउने अपेक्षा गरिएको छ।








