६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

काठमाडौंमा जाडो बढ्दै



केही दिनयता काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो क्रमशः बढ्दै गएको छ । चिसो बढेसँगै बिहान र साँझको समय बढी कठ्यांग्रिने अनुभूति हुन थालेको छ ।

यसै क्रममा आज शनिबार बिहान ५:४५ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो शुक्रबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । यस आधारमा आज उपत्यकामा हिजोभन्दा चिसो बढेको देखिएको छ ।

यद्यपि, शुक्रबार बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस कायम भएको थियो । मौसमविद्का अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम पनि बिहान ८:४५ बजे पुनः मापन गरिनेछ । त्यसबेलासम्म तापक्रम अझै घट्ने सम्भावना रहेको बताइएको छ ।

मंसिर १९ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेकोमा त्यसयता लगातारजसो तापक्रम घट्दै गएको छ । यसले उपत्यकासहित देशका विभिन्न स्थानमा चिसो बढ्दो क्रममा रहेको संकेत गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित देशका विभिन्न स्थानमा हरेक दिन न्यूनतम र अधिकतम गरी दुईथरी तापक्रम मापन गरिन्छ । दिनभरिमा सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम मानिन्छ भने सबैभन्दा माथि पुगेको तापक्रम अधिकतम तापक्रम हुन्छ । न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिने मौसमविद्ले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, शनिबार  ९ : ०० बजे