रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा नयाँ–नयाँ रेकर्ड कायम हुने क्रमले निरन्तरता पाएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) मा नेपालको विदेशी मुद्राको सञ्चिति ३० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । हाल विदेशी मुद्रा सञ्चिति २१ अर्ब ५१ करोड अमेरिकी डलर पुगेको छ।
रेमिटेन्समा भएको उल्लेख्य वृद्धिले विदेशी मुद्राको सञ्चिति बढाएको हो। चार महिनाको अवधिमा ६ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतभन्दा बढीले वृद्धि हो।
हाल रहेको विदेशी मुद्राको सञ्चितिले १७ महिना १२ दिनसम्मको वस्तु तथा सेवाको आयात धान्न सक्ने देखिएको छ। यो आयात पर्याप्तता सूचक हालसम्मकै उच्च हो। नेपालमा सामान्यतया सात महिनासम्मको आयात धान्न सक्ने सञ्चिति भए पर्याप्त मानिने गरिन्छ।
यसैबीच, सोही चार महिनाको अवधिमा आयात पनि बढेको छ। आयात १८.७ प्रतिशतले वृद्धि भई ६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब रुपैयाँको आयात भएको थियो।
रेमिटेन्सको निरन्तर वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति सुदृढ बन्दै जानुले अर्थतन्त्रको बाह्य क्षेत्रलाई थप मजबुत बनाएको अर्थविद्हरूको विश्लेषण छ।








