४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

बिशेष महाधिवेशनको तयारी पुरा, राष्ट्रपति पौडेलको चासो



नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको तयारी पूरा भएको आयोजक पक्षले जनाएको छ । आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटनसत्रको मञ्च व्यवस्थापन र सजावटको काम सम्पन्न भइसकेको बताइएको छ ।

मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको व्यवस्था गरिएको छ । खुला चौरमा ६ हजारभन्दा बढी कुर्सी राखिएको छ भने मञ्च वरिपरि कांग्रेसका झण्डा, ब्यानर तथा प्रचार सामग्री सजाइएको छ ।

आइतबार बिहान ११ बजे काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित रूपमा कार्यक्रमस्थलमा सहभागी गराउने तयारी गरिएको छ । विशेष महाधिवेशनको उद्घाटन आइतबार दिउँसो १ बजे हुने आयोजकले जनाएका छन् ।

विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता शेखर कोइरालालगायतलाई अतिथिका रूपमा निमन्त्रणा गरेका छन् । तर, उनीहरू विशेष महाधिवेशनमा सहभागी हुने सम्भावना अहिलेसम्म न्यून देखिएको आयोजक पक्षको भनाइ छ । अधिकांश महाधिवेशन प्रतिनिधि भने काठमाडौँ आइपुगेका छन् ।

आयोजक समितिले महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते पार्टी कार्यालय सानेपामा निवेदन दर्ता गर्दा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन गरिएको थियो ।

यसअघि मंसिर १५ मा पुस १६ बाट सुरु हुने गरी नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि विशेष महाधिवेशनको प्रक्रिया रोकिएको थियो । तर पुस १६ मा नियमित महाधिवेशन सम्भव नभएर आगामी वैशाख २८–३१ का लागि कार्यतालिका तय भएपछि महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ का लागि विशेष महाधिवेशन अघि बढाएका हुन् ।

यसैबीच, कांग्रेसभित्रको विशेष र नियमित महाधिवेशन विवाद राष्ट्रपति भवन शीतल निवाससम्म पुगेको छ । पार्टी विभाजन रोक्न राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय देखिएका छन् । कांग्रेसमा लामो राजनीतिक पृष्ठभूमि भएका राष्ट्रपति पौडेलले विशेष महाधिवेशनप्रति झुकाव देखाएको शीतल निवास पुगेका नेताहरूको भनाइ छ ।

गत असोजमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन हुँदा नै राष्ट्रपति पौडेलले चासो देखाएका थिए । असोजको तेस्रो साता शीतल निवास पुगेका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई राष्ट्रपति पौडेलले विशेष महाधिवेशनको वातावरण बनाउन सुझाव दिएको बताइएको छ ।

त्यसपछि मंसिर ८ मा विशेष महाधिवेशन पक्षधर नेताहरू गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतसँग राष्ट्रपति पौडेलले छलफल गरेका थिए । महामन्त्रीद्वय थापा र शर्मा, नेता शेखर कोइराला, मिनेन्द्र रिजाललगायतसँग पनि महाधिवेशन विवाद समाधानका विषयमा संवाद भएको बताइएको छ ।

शुक्रबार राष्ट्रपति पौडेलले महामन्त्री गगन थापा र नेता रमेश लेखकलाई शीतल निवास बोलाएर छलफल गरेका थिए । छलफलमा लेखकले विशेष महाधिवेशनलाई चुनावी तयारी भेलामा रूपान्तरण गर्ने प्रस्ताव राखेका थिए । तर, थापाले प्रतिनिधि काठमाडौँ आइसकेको अवस्थामा त्यसो गर्न नसकिने जवाफ दिएका थिए । त्यसपछि लेखकले नीति वा संकल्प सम्मेलनमा परिणत गर्ने दोस्रो प्रस्ताव राखे पनि त्यसमा पनि सहमति जुट्न सकेन ।

यसैबीच, कांग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापतिले विशेष महाधिवेशनको विपक्षमा उभिँदै संयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहरूले अहिले आमचुनावको तयारीमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

‘यस गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अन्य भेला, समारोहमा अल्मलिनुभन्दा संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सक्रिय रूपमा केन्द्रित हुन आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सभापतिहरूले १८ पुसमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट वैशाख २८–३१ मा १५ औँ नियमित महाधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गरेका छन् । उनीहरूले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय तहको मात्र रहेको र पार्टी एकता जोगाउन वार्ता तथा संवादमा जोड दिनुपर्ने बताएका छन् ।

कांग्रेसको आन्तरिक विवादमा शीतल निवासको सक्रियताप्रति आलोचना पनि सुरु भएको छ । विगतमा राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीमाथि दलीय चासो राखेको आरोप लागेझैँ अहिले राष्ट्रपति पौडेल पनि कांग्रेसको आन्तरिक किचलोमा तानिँदै गएको विश्लेषण हुन थालेको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ११ : ०९ बजे