४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

‘इन्डियन आइडल’ विजेता प्रशान्त तामाङको ४३ वर्षमा निधन, नेपाली संगीत र फिल्म क्षेत्रलाई क्षति



चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन–३ का विजेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा अचानक निधन भएको छ । आइतबार बिहानै आएको उनको निधनको खबरले नेपाली तथा भारतीय संगीत र फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

साधारण पृष्ठभूमिबाट उठेर ‘इन्डियन आइडल’को उपाधि जितेका प्रशान्तको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित थिएन । उनको जितले सपना देख्ने र त्यसलाई पूरा गर्न सकिने सन्देश दिएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भावना, पहिचान र स्वर प्रस्तुत हुनु नेपाली भाषी समुदायका लागि गौरवको क्षण बनेको थियो । विशेषगरी गोर्खा तथा नेपाली भाषी समुदायमा उनको जितले ठूलो गर्व र उत्साह पैदा गरेको थियो ।

प्रतियोगिताका क्रममा उनको सरल व्यक्तित्व र भावनात्मक गायनले लाखौँ दर्शक तथा स्रोताको मन जितेको थियो । गायनसँगै अभिनयमा समेत आफ्नो उपस्थिति जमाएका प्रशान्तले ‘इन्डियन आइडल’ बनेको दुई–तीन वर्षमै नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका थिए ।

प्रशान्तले अग्रज संगीतकार नारायण रायमाझीको निर्देशनमा बनेको फिल्म ‘गोर्खा पल्टन’बाट अभिनय यात्रा सुरु गरेका हुन् । त्यसपछि ‘परदेशी’ र ‘परदेशी २’ जस्ता फिल्ममार्फत परदेशिएका नेपालीको पीडा र देशप्रतिको मायालाई भावनात्मक रूपमा प्रस्तुत गर्दै दर्शकको मन जिते । उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘निशानी’ लगायतका नेपाली फिल्ममा पनि अभिनय गरे । उनको पछिल्लो नेपाली फिल्म ‘पहिचान’ गत मंसिरमा रिलिज भएको थियो ।

शान्त स्वभाव र विनम्र व्यक्तित्वका रूपमा चिनिने प्रशान्तले हिन्दी र नेपालीसहित विभिन्न भाषामा गीत गाएका छन् । नेपाली गीततर्फ ‘असारे महिनामा’, ‘मन साइँली’, ‘जाउँला रेलैमा सरर’, ‘बिछोडको करौतीले’ जस्ता गीतहरू अत्यन्त लोकप्रिय छन् ।

पछिल्लो समय गायनभन्दा अभिनयमा बढी सक्रिय उनी भारतीय चर्चित वेब सिरिज ‘पाताल लोक’ को दोस्रो सिजनमा देखिएका थिए, जहाँ उनको भूमिकाको प्रशंसा गरिएको थियो । सलमान खानको नयाँ फिल्म ‘ब्याटल अफ गलवान’ मा पनि उनको अभिनय रहेको छ ।

पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङ सन् २००७ मा ‘इन्डियन आइडल’ सिजन–३ का विजेता बनेका थिए । त्यसअघि उनी कोलकाता प्रहरीमा कार्यरत थिए । प्रहरी सेवामा रहँदा पनि उनी गायनमा निरन्तर सक्रिय थिए । उनका बुबा पनि प्रहरी सेवामै रहेका बेला एक दुर्घटनामा निधन भएको थियो । प्रशान्तकी आमाको चार वर्षअघि निधन भएको थियो भने उनकी एक बहिनी छन् ।

प्रशान्तले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गरेका थिए । उनीहरूकी एक छोरी छन् । पछिल्लो समय उनी दिल्लीमा बसोबास गर्दै आएका थिए ।

उनको निधनप्रति नेपाली संगीत तथा फिल्म क्षेत्रका कलाकार, सर्जक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : १४ बजे