४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

मधेसका दुई दल जसपा र लोसपाबीच एकीकरण सम्पन्न



जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच एकीकरण औपचारिक रूपमा सम्पन्न भएको छ । दुवै दलले २०८२ साल पौष १३ गते एकीकरण गर्ने सहमति गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए । सोही सहमतिका आधारमा एकीकरण प्रक्रिया अघि बढ्दै अन्ततः औपचारिक रूपमा टुंगिएको हो ।

सम्झौताअनुसार एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ भने चुनाव चिह्न छाता रहनेछ । पार्टीको झण्डा माथिल्लो भाग रातो, बीच भाग सेतो र तल्लो भाग हरियो रंगको रहने तथा बीच भागमा ढल्किएको छाता रहने व्यवस्था गरिएको छ ।

एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समन्वय समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ । दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकाय रहनेछ ।

सम्झौतामा दुवै पार्टी मातहत रहेका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहने उल्लेख गरिएको छ । समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म संगठनहरू आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनेछन् ।

२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति पनि गरिएको छ । साथै, एकीकरणसम्बन्धी थप प्रक्रिया राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुनअनुसार अघि बढाइनेछ ।

केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षबाट प्रमाणीकरण गरिने व्यवस्था गरिएको छ । समन्वय समितिमा लोसपा अध्यक्ष महन्थ ठाकुर संरक्षक र जसपा अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहेका छन् । समितिमा विभिन्न राजनीतिक तथा सामाजिक पृष्ठभूमिका ४३ जना सदस्य समेटिएका छन् ।

सम्झौतासँगै मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि महिला, अल्पसंख्यक र दलित समूहमा यसअघि दिइएको उम्मेदवारी निस्क्रिय गर्ने सहमति पनि गरिएको छ ।

एकीकरण सम्झौतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : २७ बजे