४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

भेनेजुएलाकी विपक्षी नेत्री माछाडोबाट ट्रम्पले नोबेल शान्ति पुरस्कार लिए



भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माछाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कार उपहार स्वरूप प्रदान गरेका छन् ।

बिहीबार ह्वाइट हाउसमा भएको भेटघाटका क्रममा माछाडोले भेनेजुएलाको लोकतन्त्रका लागि ट्रम्पले चालेको कदमको सम्मान गर्दै उक्त पदक सुम्पिएको हो । ह्वाइट हाउसले सार्वजनिक गरेको तस्बिरमा राष्ट्रपति ट्रम्पले स्वर्ण फ्रेममा सजाइएको सो पदक र कदरपत्र समातेको देखिन्छ, जसमा भेनेजुएलाका जनताको तर्फबाट कृतज्ञता व्यक्त गरिएको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मार्फत यसलाई सम्मानको अद्भुत सङ्केत भन्दै प्रशंसा गरे।

गत वर्ष भेनेजुएलामा लोकतन्त्रका लागि गरेको सङ्घर्षका लागि नोबेल शान्ति पुरस्कार जितेकी माछाडोले यो भावनात्मक क्षण भएको र ट्रम्प यसका लागि योग्य पात्र भएको बताइन् । यद्यपि, नर्वेस्थित नोबेल शान्ति केन्द्रले भने नोबेल पदकको स्वामित्व परिवर्तन हुन सके पनि विजेताको उपाधि हस्तान्तरण हुन नसक्ने स्पष्ट पारेको छ । भेनेजुएलाका पूर्व शासक निकोलस मादुरोलाई अमेरिकी विशेष फौजले नियन्त्रणमा लिएपछि उत्पन्न राजनीतिक रिक्ततामा आफ्नो नेतृत्वका लागि अमेरिकी समर्थन जुटाउने उद्देश्यले माछाडोले यो कदम चालेको विश्लेषण गरिएको छ ।

भेटघाट सौहार्दपूर्ण देखिए पनि राजनीतिक रूपमा भने माछाडोले ट्रम्पबाट स्पष्ट समर्थन पाउन सकेनन् । मादुरोपछिको भेनेजुएलाको नेतृत्वका लागि ट्रम्पले वर्तमान कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई प्राथमिकता दिइरहेका छन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले माछाडोलाई एक साहसी आवाजका रूपमा सम्मान गरे पनि भेनेजुएलाको नेतृत्व गर्न आवश्यक समर्थन उनीसँग नरहेको राष्ट्रपति ट्रम्पको पूर्ववत् अडानमा कुनै परिवर्तन नआएको स्पष्ट पारे ।

माछाडोले भेनेजुएलाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो महत्त्वाकाङ्क्षा कायमै रहेको बताइन् । उनले सन् २०२४ को विवादित निर्वाचनमा विपक्षी उम्मेदवार एडमण्डो गोन्जालेज नै निर्वाचित राष्ट्रपति भएको दाबी समेत गरे । भेटघाटपछि ह्वाइट हाउसबाट बाहिरिँदा माछाडोको हातमा ट्रम्पको हस्ताक्षर अंकित उपहारको झोला मात्र देखिएको थियो, जसले भेनेजुएलाको भावी नेतृत्वका लागि उनको राजनीतिक यात्रा अझै अनिश्चित र चुनौतीपूर्ण रहेको सङ्केत गर्दछ ।

प्रकाशित मिति : ३ माघ २०८२, शुक्रबार  १० : ०५ बजे